काठमाडौँ । ललितानिवास जग्गा प्रकरणका मुख्य आरोपित शोभाकान्त ढकालविरुद्ध राजस्व चुहावट गरेको आरोपमा उच्च अदालत, पाटनमा मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले ललितानिवास प्रकारणका मुख्य आरोपित ढकाल, उनका पारिवारिक सदस्य र लेखापरीक्षकलगायतका व्यक्तिहरुविरुद्ध करिब सवा अर्ब रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको हो । राजस्व चुहावट गरेको आरोपमा ढकालकी पत्नी उमा कुमारी ढकाल र पारिवारिक सदस्य सरोज ढकालविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । No description available. ढकालले एक अर्ब २० करोड १९ लाख रुपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ । ढकालविरुद्ध राजस्व चुहावट र बिगो दाबीसहित दुई अर्ब ४० करोड ९८ लाख रुपैयाँ तथा कैद सजाय माग गरिएको विभागका सूचना अधिकारी कृष्ण प्रसाद पाण्डेले बताए । नागार्जुन नगरपालिका वडा नम्बर १, नर्सरीचोक स्थायी ठेगाना भई आनसान इन्टरनेशनल प्रालिको सञ्चालकको रुपमा ढकालले फर्म दर्ता गरेका छन् । उनले सञ्चालकमा पत्नी उमा कुमारी ढकाल, सरोज ढकाल, सान्टु श्रेष्ठको नाम राखेका छन् । आनसान प्रालिले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झूटा मूल्यअभिवृद्धि कर विवरण, वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी कारोबार नै नभएको देखाई अर्थात् कारोबार शून्य देखाई प्रचलित आयकर ऐन तथा मूल्यअभिवृद्धि कर ऐन तथा नियमहरुबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले जनाएको छ । यस्तै आनसान प्रालिको लेखापरीक्षक तथा लेखापरीक्षण भने राजेश्जवर एण्ड कम्पनी फर्मका प्रोपराइटर राजेश्वर श्रेष्ठले गरेका छन् । राजस्वले लेखापरीक्षक श्रेष्ठलाई मतियारको भूमिका निर्वाह गरेको भन्दै सजायको मागदाबी गरेको छ । सूचना अधिकारी पाण्डेले ढकाल र उनका पारिवारिक सदस्य, श्रेष्ठविरुद्ध राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) २०५२ बमोजिम राजस्व चुहावट गरेको पुष्टि भएको बताए । आरोपित ढकाललाई सजायस्वरुप बिगो जरिवानासहित तीन वर्षसम्म कैद माग गरिएको छ । ढकाल स्याङ्जाका बासिन्दा हुन् हाल भने उनी ललिता निवास जग्गा हिनामिना गरेको आरोपमा डिल्लीबजार कारागारमा थुनिएका छन् । उनलाई वित्तीय अपराध गरेको आरोप समेत लाग्दै आएको छ ।