रसुवा । मंगलबार बिहान गएको सुक्खा पहिरोका कारण स्याफ्रुबेँसी–रसुवागढी खण्डको अन्तर्राष्ट्रिय राजमार्गमा सवारी यातायात ठप्प भएको छ । पहिरो खुलाई चीनबाट आयात भएका मालवाहक कन्टेनगर आवतजावत गराउन स्थानीय प्रशासनमार्फत पहलकदमी सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार पहिरो पन्छाउनका लागि स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजना र सडक कार्यालयको स्काभेटर उपकरण झिकाउने प्रयास अगाडि बढिरहेको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट आएको सुक्खा पहिरोले राजमार्ग अवरुद्ध गरेको हो । खुलाउने प्रयासका लागि प्रजिअको नेतृत्वमा सुरक्षा निकायअन्तर्गत नेपाल प्रहरी, सशस्त्री प्रहरी बल र नेपाल सेनाको टोलीले स्थलगत अध्ययन गरिरहेको र सम्भवतः राजमार्ग खोल्न दुई दिन लाग्ने अनुमान रहेको छ । पहिरोस्थलमा स–साना ढुङ्गाहरू झर्ने क्रम भइरहेकाले डोजरका अपरेटरहरू पहिरो पन्छाउन जान डराइरहे पनि सुरक्षा संयन्त्र अपनाई पहिरो पन्छाउने कार्य अगाडि बढाइने जनाइएको छ । रासस