काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिबद्ध रहेको बताएकी छिन् । कोरोनाले दुई वर्षको चुनौतीपूर्ण समयपछि नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा स्वागत गर्न पाउँदा उत्साहित भएको उनले बताइन् ।
‘स्टडी इन अष्ट्रेलिया’ भन्ने मूलनाराका साथ मङ्गलबार राजधानीमा आयोजना भएको प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०२२ को उद्घाटन गर्दै उनले कोरोनाको कारण बन्द बोर्डर खुला भएपछि पूर्ण रुपमा कोरोना खोप लिएका विद्यार्थीलाई अध्ययनका लागि अष्ट्रेलिया डिसेम्बरदेखि खुला भएको जानकारी समेत दिइन् ।
धेरै चुनौतीका बाबजुद अहिलेको समयमा पूर्ण खोप लगाएका र भिसा लिएका योग्य विद्यार्थीहरुलाई अष्ट्रेलियामा प्रवेश गराइँदै आएको जानकारी समेत दिइन् । नोभा एजुकेसन एण्ड कन्सल्टिङ सर्भिसेजले मङ्गलबार बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शैक्षिक मेला आयोजना गरेको हो । शैक्षिक मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि अस्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बीमा सेवा समेत गरी १५ वटा संस्थाहरुको सहभागिता रहेको थियो ।
प्रथम अष्ट्रेलियन शैक्षिक मेला यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहेको नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताए । यस वर्षको अष्ट्रेलियन शैक्षिक मेलामा अष्ट्रेलियाबाट कलेज र विश्वविद्यालयहरू, शैक्षिक ऋण प्रदायकको लागि एनएमबी बैंक, आईएलटीएसको लागि आईडीपी आईईएलटीएस, शैक्षिक बीमाको लागि एल्लियान्ज पार्टनर्स संस्थाहरुको सहभागिता रहको थियो ।
मेलामा छात्रवृत्ति, पोष्ट स्टडी वर्क (अध्ययनपछि काम) र रिजनल क्याम्पस (क्षेत्रीय क्याम्पस)का बारेमा पनि जानकारी दिइएको थियो । एक सय सहभागीहरूलाई निःशुल्क आईईएल्टीएस वा पीटीई कक्षाहरू उपलब्ध गराइएको थियो भने र एक भाग्यशाली विजेतालाई अष्ट्रेलियाको निःशुल्क हवाइ भाडा दिइने आयोजक पक्षले जनाएको छ । कार्यक्रममा सहभागीहरुलाई नेपाल टेलिकमको तर्फबाट सीमकार्ड पनि प्रदान गरिएको थियो ।
मेलामा विद्यार्थीले आफुले अष्ट्रेलियामा जान आवश्यक शैक्षिक परामर्श निःशुल्क लिएका थिए । थुप्रै उपहारहरुका साथै छत्रबृत्तिको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रालि छ ।