अमेरिका    । थेरानोस नामक कम्पनीका संस्थापक एलिजाबेथ होल्मसलाई क्यालिफोर्नियाको एक अदालतले धोखाधडी आरोपमा जेल सजाय सुनाएको छ । महिनौँ लामो सुनुवाइपछि उनले लगानीकर्तासँग धोखाधडी गरेको ठहर गर्दै अदालतले दोषी पाएको हो । मुद्दा अभियोजनकर्ताहरुले होल्मसले जानी जानी थोरै थोपा रगतबाटै रोग पत्ता लाग्ने प्रविधिबारे ढाँटेको अभियोग लगाएका थिए । न्यायाधीशहरुले लगानीकर्ताविरुद्ध षड्यन्त्र गरेकोमा उनलाई दोषी रहेको फैसला सुनाएका हुन् । उनीविरुद्ध अन्य तीन अभियोग पनि पुष्टि भएको बताइएको छ । यद्यपि उनले भने आफूविरुद्धका आरोप अस्वीकार गरेकी छिन् । यी अभियोग पुष्टि हुँदा उनले हरेकमा २० वर्ष जेल बस्नुपर्ने हुन्छ । यद्यपि उनलाई थुनामा भने राखिएको छैन । अर्को हप्ता यसबारे फेरि सुनुवाइ हुनेछ । गत वर्षमात्रै पहिलो बच्चालाई जन्म दिएकी ३७ वर्षीया उनी फैसला भइरहँदा थोरै भावुक बनेको बताइएको छ । सो क्रममा उनी आफ्ना श्रीमान् बिली इभनसँगै थिइन् । उनीविरुद्ध ११ अभियोग रहे पनि ४ वटामा सफाइ पाएकी छिन् । थेरानोसको मूल्यांकन नौ अर्ब डलरसम्म पुगेको थियो । यो कम्पनी कुनै बेला सिलिकन भ्याली र बायोटेकमा प्रसिद्ध थियो । उनले अर्बपतिहरुबाट ९० करोड डलरभन्दा धेरै रकम उठाउन सफल भएकी थिइन् । यसमा सञ्चार उद्यमी रुपर्ट मर्डोक र प्रविधि हस्ती ल्यारी एलिसनले समेत लगानी गरेका थिए । कम्पनीले स्वास्थ्य क्षेत्रलाई नै रुपान्तरण गर्ने प्रविधि ल्याउने दाबी गरेको थियो । यसले क्यान्सर र डायबिटिज जस्ता रोग एक÷दुई थोपा रगत राखेलगत्तै पत्ता लाग्ने प्रविधि ल्याउने दाबी गरेको थियो । तर सन् २०१५ मा कम्पनीको यो भनाइ झूटो रहेको पुष्टि भएको थियो । वाल स्ट्रिट जर्नलको अनुसन्धानात्मक रिपोर्टले कम्पनीको रक्त परीक्षण प्रविधिले कामै नगरेको पत्ता लागेको थियो । झण्डै चार महिना लामो सुनुवाइपछि उनी दोषी ठहर भएकी हुन् । ३० प्रत्यक्षदर्शीको साबिती बयानअनुसार होल्मसलाई लगानीकर्तालाई बिक्री गरिरहेको उक्त प्रोडक्ट एडिसन नामक मेसिन झूठो रहेको थाहा हुँदाहुँदै धोखाधडी गरिरहेको अभियोग पुष्टि भएको थियो ।