काठमाडौँ । नबिल बैंकले सुदूरपश्चिम प्रदेशअन्तगर्तका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बझाङ जिल्लाको बित्थडची र गाउँपालिका र डँडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ । नबिल बैंकले बित्थडचि र गाउँपालिका र आलिताल गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
उक्त साझेदारीमार्फत गाउँपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरू साथै अन्य गाउँपालिकावासीहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । अन्तरक्रियाकै दौरान स्थानीय किसान, युवा तथा महिला उद्यमीहरूले उठाएका जिज्ञासा तथा सुझावहरूको समेत सम्बोधन गरिएको थियो ।
बैतडीको पञ्चेश्वर गाउँपालिकामा आठ दिने तालिम कार्यक्रम सुरु
बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरतासम्बन्धी ८ दिने तालिम कार्यक्रम सुरु भएको छ । यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।
यस कार्यक्रमले स्थानीय युवाहरूलाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पु-याई देशभित्रै युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सिर्जनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ ।
पञ्चेश्वर गाउँपालिकाले युवा उद्यमका लागि आह्वान गरेको सूचनामा दरखास्त दिई छनोट भएका युवाहरू यही पुुस ११ गतेदेखि यही पुस १८ सम्म सञ्चालन भएको ७ दिने तालिम कार्यक्रममा एक सय २० जना सहभागी छन् । तालिममा चार सय जनाले आवेदन दिएका थिए ।
नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा सुरु गरेको छ ।
बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गर्दै आएको छ ।