काठमाडौँ । नेपाल एसबीआई बैंकको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको बैंकले जानकारी दिएको छ ।
सभाले बैंकको आर्थिक वर्ष २०७७–०७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७८ को वासलात, आव २०७७–०७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत पारित गरेको छ । सभाले बैंकका सेयरधनीहरूलाई चुक्ता पुँजीमा पाँच दशमलव ३१ प्रतिशतका दरले लाभांश ( तीन दशमलव ५० बोनस सेयर र एक दशमलव ८१ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लि.को आर्थिक वर्ष २०७७–०७८ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
सभाले आव २०७८–०७९ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेसर्स एसएआर एसोसियट्स्, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरू गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।