काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटार जग्गा घोटालाकाण्डमा न्यायाधीश विनोद गौतमसहित तीन सय जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सीआईबी स्रोतका अनुसार सरकारबाट हस्तक्षेप नभए यो संख्या बढेर चार सयसम्म पुग्नेछ ।
सीआईबीले जारी गरेको पक्राउ पुर्जीमा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छादार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीपकुमार बस्न्यात समेत रहेका छन् ।
न्यायाधीश गौतम तत्कालीन समयमा भौतिक योजना मन्त्रालयमा कानुनको उपसचिवको रुपमा कार्यरत थिए भने पूर्वप्रमुख आयुक्त बस्न्यात सचिव थिए । यस काण्डमा मुछिएसँगै न्यायाधीश गौतम निलम्बनमा परेका थिए ।
त्यस्तै बालुवाटारको जग्गा किन्ने ठूला व्यापारीहरू समेत प्रतिवादी बन्दै छन् । गोविन्दलाल सांघाई, मनोज केडिया, मिनबहादुर गुरुङ, सञ्जय चाचन, सिपिका खेतान, कैलाशचन्द्र गोयललगायतका ठूला व्यापारीहरु पनि पर्ने निश्चित भएको छ । जिल्ला सरकारी वकिल कार्यालयबाट आफ्नो नाम हटाउन केही व्यापारी भने चलखेलमा लागेको समेत स्रोतले बतायो ।
सीआईबीले पक्राउ गर्न नसकेकाहरुलाई समेत मुद्दा दायर गर्ने भएको छ । कतैबाट हस्तक्षेप नभएमा विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोगाएका व्यक्तिहरू समेत अहिले पर्ने देखिएको सीआईबी स्रोत बताउँछ ।