काठमाडौँ । ऊखु किसानको आन्दोलनप्रति चार किसान संगठनले ऐक्यबद्धता जनाएका छन् । चार किसान संगठनहरू अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले किसानहरूको जायज र न्यायोचित आन्दोलन भएकोले ऐक्यबद्धता जनाएको उल्लेख गरेका छन् ।
बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै किसान संगठनले ऊखु किसानहरूको वर्षौँदेखिको बक्यौता रकम भुक्तानी दिलाउन सरकारले सधैँ आलेटाले गरेर किसानलाई झुलाउने र दुःख दिने गरेको बताए । वर्षैपिच्छे ऊखु किसानले आन्दोलनमा उत्रनुपरिरहेको विडम्बनापूर्ण स्थितिप्रति किसान संगठनहरू अत्यन्तै चिन्तित र आक्रोशित बनेको विज्ञप्तिमा उल्लेख छ ।
तुरुन्तै भुक्तानी दिने भनेर सम्झौता गर्ने सरकारले मिल मालिकको पक्ष लिएर जहिले पनि किसानहरूलाई जिल्लाराम पार्ने र दुःख दिने गरेकोले ऊखु किसानविरोधी हर्कतको विरोध, तीव्र निन्दा र घोर भत्र्सना गर्दै आन्दोलनरत ऊखु किसानको समर्थन गरेको अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले बताए । तत्काल सरकारले ऊखु किसानको सम्पूर्ण बक्यौता मूल्य ब्याज र हर्जानासहित भुक्तान नगरे चार किसान संगठनहरू ऊखु किसानका मागसहित सडकमा उत्रन बाध्य हुने उनको भनाइ छ ।
किसानलाई सधैँ उपेक्षा, अपहेलजना र बेवास्ता गर्ने सरकारी रबैयाले कृषि क्षेत्र आकर्षणविहीन र तिरष्कृत हुन पुगेको किसान संगठनको भनाइ छ ।