विराटनगर । सौर्य एयरलाइन्सले अवैध मानिएको हुण्डी कारोबारलाई प्रश्रय दिइरहेको आशंका गर्न थालिएको छ । गत हप्ता विराटनगरबाट काठमाडौँका लागि उडेको सौर्य एयरलाइन्सको जहाजबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित एयरलाइन्सकी कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी थिइन् ।
उक्त रकम हुण्डीको हुनसक्ने प्रहरीले आशंका गरी अनुसन्धान गरिरहेको छ । त्रिभुवन विमानस्थलबाट सौर्य एयरलाइन्स काठमाडौँकी असिस्टेन्ट रेशा शाक्य पक्राउ परेपछि प्रहरीले एयरलाइन्स विराटनगरका स्टेसन म्यानेजर प्रकाश पौडेललाई पनि पक्राउ गरी विराटनगरबाट काठमाडौँ पठाएको थियो । सौर्य एयरलाइन्सका यी दुई कर्मचारी पक्राउ परे पनि शाक्यलाई भने राजस्व अनुसन्धान विभागले दुई दिनपहिले मात्र थुनामुक्त गरेको स्रोतको दाबी छ ।
तर पौडेललाई भने राजस्व अनुसन्धान विभागले थुनामै राखेर आफ्नो अनुसन्धान अगाडि बढाएको राजस्वस्रोतले बताएको छ । गत शनिबार पुस १७ गतेका दिन दिउँसो पौने २ बजे त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा विराटनगरबाट उडेको सौर्य एयरलाइन्सको जहाजबाट ५० लाख रुपैयाँ बरामद भएपछि सौर्य एयरलाइन्सका कर्मचारीहरू पक्राउ परेका थिए ।
सादा पोसाकमा खटिएको प्रहरीले रातो रंगको भद्रपुर लेखिएको झोला चेक गर्दा प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्र स्रोत नखुलेको रकम बरामद भएको थियो । एक हजार दरका चार हजार नौ सय ५० वटा र पाँच सय दरका एक सयवटा गरी ५० लाख रुपैयाँ बरामद गरेको प्रहरीले जानकारी दिएको थियो ।
सो रकम लिन सौर्य एयरलाइन्स काठमाडौँको असिटेन्टमा कार्यरत रेशा शाक्य आफैँ विमानस्थलमा पुगेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । उक्त रकम सौर्य एयरको विराटनगरस्थित स्टेसन मेनेजेर पौडेले झोलामा हालेर जहाजमा पु¥याएको रहस्य खुलेसँगै पौडेललाई पनि मोरङ प्रहरीले विराटनगर विमानस्थलबाटै पक्राउ गरी बुद्ध एयरको जहाजबाट काठमाडौँ पठाएको थियो ।
सुपारी व्यापारीको समूूहबाट सञ्चालन हुँदै आएको सौर्य एयरलाइन्सबाट धेरै पटक स्रोत नै नखुलेको रकम जहाजमार्फत काठमाडौँ पठाउने गरेको जानकारी प्रहरीसँग भए पनि प्रमाणविना पक्राउ गर्न प्रहरीले नसकेको स्रोतको भनाइ छ । उक्त जहाजको एमडीमा झापाका सुपारी व्यवसायी दिपक पोखरेल रहेको सौर्य एयरलाइन्सको वेबसाइटमा उल्लेख गरिएको छ ।
त्यसैगरी उक्त जहाजको मुख्य सञ्चालकमा विराटनगरका सुपारी व्यवसायी दिनेश राठी रहेको स्रोतले बताएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तिनै सौर्य एयरलाइन्सका एमडी एवं झापाका सुपारी व्यवसायी दिपक पोखरेललाई २५ हजार मेट्रिकटन सुपारी आयातका लागि सेटिङमा नै कोटा वितरण गरेका थिए ।
उक्त सुपारीको कोटा वितरण गर्दा वाणिज्य तथा आपूर्ति विभागमा महानिर्देशकका रूपमा कार्यरत रहेका प्रकाश पौडेल अहिले राजस्व अनुसन्धान विभागको महानिर्देशकका रूपमा बहाल रहेका कारण यो स्रोत नखुलेको ५० लाख पक्राउ प्रकरण पनि सेटिङमै मिलाउने प्रयास भइरहेको स्रोतको दाबी छ । त्यसका लागि विराटनगरमा रहेका सौर्य एयरलाइन्सका सञ्चालक एवं सुपारी व्यवसायी दिनेश राठी पनि पुस २० गते नै काठमाडौँ प्रस्थान गरिसकेको विराटनगर विमानस्थलस्रोतले जानकारी दिएको छ ।
गत १७ गते शनिबार सौर्य एयरलायन्सको १ः३० बजेको उडानमा सुरक्षाजाँच नै नगराई पठाएको पोकामा काठमाडौँ विमानस्थलबाट ५० लाख नगद बरामद भएको थियो । प्रहरीका अनुसार विराटनगर १० घर भएका पौडेलले सुरक्षाजाँच नै नगराई पोका विमानमा राखेको र शंका लागेपछि प्रहरीले सोधखोज गर्दागर्दै विमान उडेपछि काठमाडौँमा खबर गरेर चेकजाँच गर्न लगाउँदा उक्त रकम बरामद भएको जनाएको छ । उक्त घटनासँगै सौर्य एयरलाइन्समा लामो समयदेखि चल्दै आएको अवैध रकम ओसारपसारको घटना बाहिरिएको छ ।
स्टेसन मेनेजर पौडेलले विमान उड्न लागेपछि ५० लाख रकम भएको झोला विमानस्थलमा हालेको प्रहरीले जानकारी दिएको थियो । अहिले मोरङ प्रहरीले पनि बरामद गरेको रकम हुण्डीको हुनसक्ने आशंका गरेपछि अहिले प्रहरीले पनि आफ्नो अनुसन्धान त्यसतर्फ सुरु गरेको छ । नेपालमा १० लाखभन्दा बढीको कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।
सौर्य एयरलायन्सले काठमाडौँ–विराटनगर दैनिक दुईवटा उडान गर्दै आएको विराटनगर विमानस्थलले जानकारी दिएको छ ।