काठमाडौँ । सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि छ महिनाको म्याद दिएको छ ।
कोरोना भाइरस महामारी अघि प्राप्त भएका डिमान्ड पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भवप्रायः भएकोले व्यावहारिक कठिनाइका कारण छ महिना कामदार पठाउन पाउने गरी म्याद थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
२०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि २०७८ मंसिर २२ देखि २०७९ जेठ २१ सम्म कायम रहने गरी छ महिना म्याद थप गरिएको हो । सरकारको यो निर्णयसँगै कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनअघि प्राप्त भएका ३० हजार बढी मागपत्र कार्यान्वयन हुनेछ । वैदेशिक रोजगारीसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ अनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस महामारीका कारण सरकारले २०७६ फागुन २६ गतेबाट वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन रोक लगाएको थियो । अहिले अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको तथा रोजगारदाता मुलुकबाट श्रमिकको माग भई आएकोले पहिले नै प्राप्त भएका मागपत्रअनुरुप श्रमिक पठाउन छ महिनाको म्याद थप गरिएको हो ।