हङकङ । चिनियाँ स्वशासित सहर हङकङले कोरोना संक्रमण रोक्न यात्रा प्रतिबन्ध घोषणा गरेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार रेष्टुराँदेखि अन्तर्राष्ट्रिय यात्रासम्ममा हङकङले कडाइ गरेको हो ।
यसअनुसार साँझ ६ बजेदेखि रेष्टुराँ बन्द हुनेछन् भने आठ देशबाट उडान गर्न पनि रोक लगाइएको जनाएको छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले बुधबार पत्रकार सम्मेलन गर्दै कोरोना फेरि फैलिने जोखिम बढेकाले कडाइ गर्नुपरेको बताइन् ।
‘अहिले महामारीको अवस्था द्रुतगतिमा बदलिएको छ जुन चिन्ता गर्नुपर्ने खालको छ’, लामले भनिन्, ‘आज हामी द्रुत, निर्णायक र चुस्त कदम चालेर भाइरस फैलावटको ‘चेन कट’ गर्न चाहन्छौँ ।’ योसँगै बार र पबहरु, फिटनेस सेन्टर, थिम पार्क, संग्रहालय, पार्टी रुम, ब्युटी पार्लर, स्विमिङ पुललगायतलाई शुक्रबारदेखि दुई हप्ता बन्द हुनेछन् । रेस्टुराँले पनि हरेक दिन छ बजेदखि बिहान ४ः५९ बजेसम्म ग्राहकलाई सेवा दिन रोक्नुपर्नेछ ।
लामले अस्ट्रेलिया, बेलायत, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स र अमेरिकाबाट शनिबारदेखि लागू हुने गरी जनवरी ११ सम्म उडान प्रतिबन्ध लगाएको बताइन् । रेष्टुराँमा टेबलमा बस्ने मानिसहरुको संख्या समेतघटाइएको छ। यसअनुसार टाइप बी प्रिमाइसेसमा दुई जना, टाइप सीमा चार जना, टाइप डीमा छ जना बस्न पाइने भएको छ। यसअघि क्रमशः ४, ६ र १२ जना बस्न पाउँथे ।
बुधबार सल्लाहकारहरुले संक्रमणको पाँचौँ लहरको चेतावनी दिएका थिए। सरकारले तत्काल कदम चाल्न ढिला भइसकेको सल्लाह पाएसँगै हङकङमा कडाइ गरिएको बताइएको छ ।