काठमाडौँ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्स एनसीएचएलको नेसनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ, भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेन्डर भुक्तानीलगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरू आबद्ध भएका बैंक खाताहरूबाट सोझै गर्न सक्नेछ ।
यसले आईएमई जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरूबाट भुक्तानी कारोबारहरू सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मदत पु-याउनेछ । यी सबै कारोबारहरू सोझै बीमा कम्पनी तथा लाभग्राहीहरूका बैंक खाताहरूबाट हुनेछन् । यसरी एनपीआईमा जोडिएपछि आईएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरू पूर्ण स्वचालितरूपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ ।
एनपीआईसँग गरिने उक्त इन्टिग्रेसनमा आईएमई जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रालिको पनि महत्वपूर्ण भूमिका रहेको छ जसले आईएमई जनरल इन्स्योरेन्सलगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।
आईएमई जनरल इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरूले आफ्नो बीमा प्रिमियम शुल्क अनलाइनमार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन् । साथै नौ जीवन तथा निर्जीवन बीमा कम्पनीहरू यसअघि नै एनपीआईमा आबद्ध रहेका छन् ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआई सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पीएसपी, पीएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरूलगायतका ७० गैरबैंकिङ संस्थाहरू इन्डाइरेक्ट, प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले सन् २००१ फेब्रुअरी १ देखि आफ्नो सेवा प्रदान गर्दै आएको छ । बैंकिङ, ट्रेडिङ, हाइड्रोपावरजस्ता विविध क्षेत्रका ख्यातिप्राप्त उद्योगी तथा व्यवसायीहरूद्वारा प्रवद्र्धित यस कम्पनीले गुणस्तरीय, स्थायित्व, विशेषज्ञतापूर्ण सेवा प्रदान गर्दै आएको छ ।
एनसीएचएलसँगको यो साझेदारीले विभिन्न डिजिटल च्यानलहरूमार्फत प्रदान गरिने बीमा उत्पादनहरूमा आफ्नो उपस्थिति विस्तार गर्न मदत गर्ने विश्वास कम्पनीको रहेको छ ।