काठमाडौँ । यो सन्दर्भको पहिलो प्रसंग हो माओवादी अध्यक्ष प्रचण्डको जसले पहिले आफ्ना मतदाता निर्विरोध छाने र तिनै निर्विरोध मतदाताबाट आफू पनि निर्विरोध छानिए ।
करिब एक महिनाभित्र सम्पन्न सत्ता र विपक्ष गरी ठूलादलका महाधिवेशनमध्येको पछिल्लो हो नेकपा माओवादी केन्द्रको (पुस ११–१९) महाधिवेशन । यसबाट यसका पूर्वअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध अध्यक्ष चयन भए जसले निर्विरोधको साटासाट जस्तो देखायो ।
महाधिवेशनस्थल (एकेडेमी) बाहिर ललितपुरको एक रिसोर्टमा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले ६७ वर्षे प्रचण्डलाई निर्विरोध अध्यक्ष बनाएको हो । यसअघि यिनै अध्यक्षले उनलाई त्यसरी नै निर्विरोध अध्यक्ष बनाएका केन्द्रीय सदस्यलाई यसरी नै निर्विरोध बनाएका थिए ।
अवस्था कस्तो भने पहिले अध्यक्षले गोजीबाट सूची झिकेर आफना मतदातालाई निर्विरोध बनाए र तिनै निर्विरोध भएकाहरुबाट आफू पनि निर्विरोध भए अर्थात् महाधिवेशनका नाममा निर्विरोधको साटासाट । यसरी साटासाट भएका माओावदीको यो नेतृत्व अपवादबाहेक सबै पुराना र विगतमा पाएको भूमिकामा असफल नै थिए । अबको तिनको कार्यकालमा भने के सफलता प्राप्त होला भन्ने जिज्ञासा स्वाभाविकरुपले उठ्ने भयो नै ।
माओवादी केन्द्र यतिबेलाको सत्तासञ्चालक समेत हो । त्यसकारण यसको नेतृत्व छनौटमा उमेर, अनुहार र विगतको कार्यकाल समेतलाई मध्यनजर गरेर मूल्यांकन हुन थालेको हुनुपर्छ । प्रचण्डको यो अध्यक्षता यस अघिको निरन्तर अध्यक्षताको ३४ वर्षपछिको हो । यो कार्यकाल पूरा हुनपाएको अवस्थामा उनको नेतृत्वले निरन्तरता पाएको ४० वर्ष पुग्नेछ ।
एउटा कुनै दलको यतिलामो निरन्तर नेतृत्वकर्ता व्यक्ति प्रचण्डमात्रै हुनुपर्छ । उनी खुला राजनीतिमा आएको पनि १५ वर्ष भइसकेको छ । पछिल्लो यो १५ वर्ष प्रचण्डको निरन्तर सत्तारोहणको पनि हो । २०६३ पुसदेखि यो दल आजको मितिसम्म नै सत्तामा छ । बीचमा केही समय खाली रह्यो भने त्यो अपवाद माने हुन्छ ।
यस्तो बेला देशले चाहिँ प्रचण्डबाट के पायो त ? आज आम नागरिकले गरिरहेको प्रश्न हो यो । उनलाई निर्विरोध नेतृत्वचयनको प्रस्ताव गर्दा एक केन्द्रीय सदस्यले भने, ‘जनयुद्ध, जनआन्दोलन, शान्तिप्रक्रिया, संविधानसभाको निर्वाचन र गणतन्त्रसहितको संविधान बनाउन नेतृत्व गरेका प्रचण्डको कार्यभार र भूमिका अझै बाँकी रहेको छ ।’
यसको अर्थ हो जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र गणतन्त्रसहितको संविधान अबका दिनमा पनि माओवादीले भँजाई खाने विषय हुनेछन् । यता माओवादीकै कारण शान्तिप्रक्रिया टुंगोमा नपुग्दा लाखौँ पीडित रोइरहेको अवस्था यथावत् नै छ । ‘हामी सबै, मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिँदैन । सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र आदिआदि ।’ महाधिवेशनमा आएको फरक मतको एउटा अंश हो यो ।
जब यही नेतृत्व छानिएको छ भने अब आउने दिनमा त्यो पार्टीभित्र पनि यो नेतृत्वले कस्तो सुधार गर्ला भन्ने पार्टीभित्रको सुधारले नै देशमा चलिरहने यथास्थितिमा सुधार गर्छ कि यथास्थितिमै रमाउँछ भन्ने भन्ने प्रश्न उठ्छ नै । धेरै टाढा जानुपर्दैन । १० वर्षसम्म चलेको माओवादी सशस्त्र विद्रोहको सन्दर्भ र २०६२/०६३ दोस्रो जनआन्दोलन तथा शान्ति सम्झौतापछिको समयमा माओवादी राष्ट्रिय राजनीतिको प्रमुख शक्ति बन्यो तर परिवर्तनतर्फ सकारात्मक हस्तक्षेप गर्न सकेन ।
२०६४ सालको पहिलो संविधानसभामा माओवादी पहिलो राजनीतिक शक्ति बन्यो । आमतहमा यो दलप्रति धेरै ठूलो अपेक्षा गरिएको स्थिति हो यो । तर मुलुकका लागि त्यस्तो शक्ति प्राप्त भएर पनि मुलुकका लागि नेतृत्वले के ग¥यो त भन्ने प्रश्न आजपर्यन्त पनि निरुत्तरित नै छ ।
हो, यो क्रममा यो नेतृत्वले संसदीय अभ्यासलाई स्वीकारेकै हो । २०६५ साउन मसान्तमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्ति भए । २४० मध्ये १२० सिट संख्या यो दलले पाएको हो । त्यसमा नेतृत्वको सफलता मान्नुपर्छ । तर सत्ताको उटपट्याङ प्रयोगबाहेक नेतृत्वले देशको ध्यान आफूप्रति आकर्षित गरिरहन नै सकेन । यो भनेको नागरिकले माओवादीबाट ठूलो परिवर्तन र सत्तामा नयाँ नजीर कायम हुने अपेक्षा गरेको समय हो । त्यो टुट्यो । त्यसपछि निर्वाचनमा माओवादीको अवस्था राष्ट्रिय राजनीतिमा एकपछि अर्को गर्दै बिलाउँदै गएजस्तो देखियो ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले जस्तो पराजय बेहो¥यो १४० बाट झरेर २३ सिट, त्यसपछि २०७४ को चुनावमा एमालेसँग गठबन्धन गरेर पनि १६५ मध्ये ३३ सिट आउनु नेतृत्वको असफलताका लिखित उदाहरण हुन् । उता त्यस्तो भइरहँदा यता प्रचण्ड भने यो दलको निरन्तर अध्यक्ष भइरहे निर्विरोध नै ।
यद्यपि प्रचण्डमात्रै होइनन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस र यतिबेलाको प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्व पनि भयंकर असफलताकै बीचमा छानिएको अवस्था छ । माओवादीका अध्यक्ष प्रचण्डको थप परिचय जोडियो, जोडियो– उनले निर्वाचन नै हुन दिएनन् आफनो दलभित्र । आफैँले सूची घोषणा गरे देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई जिल्याउँदै र त्यही सूचीबाट आफू निर्विरोध छानिए । त्यसकारण उनी बढी चर्चामा आएको हुनुपर्छ ।
जब नेतृत्व नै यसप्रकारले बन्छ भने त्यसले मुलुकमा कस्ता परिवर्तनको प्रस्ताव गर्ला र आम नागरिकको अपेक्षा कसरी पूरा होला भन्ने जिज्ञासा उठ्छ नै ।