काठमाडौं । ग्राहकहरूलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले इजिलिंक रेमिट्यान्स प्रालिसँग सम्झौता गरेको छ ।
बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र इजिलिंक रेमिट्यान्स प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका हुुन् ।
सम्झौतापश्चात् ग्राहकहरूले विश्वका विभिन्न स्थानहरूबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानहरूमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका एक सय तीनवटा शाखाहरूमार्फत सेवा प्राप्त गर्न सक्नेछन् । अब महालक्ष्मी विकास बैंकका ग्राहकहरूले संसारको कुनै पनि स्थानबाट इजिलिंक रेमिट्यान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् ।
बैंकले हालसम्म २६ वटा रेमिट कम्पनीहरूसँग सम्झौता गरी ग्राहकहरूलाई रेमिटान्स सुविधा प्रदान गर्दै आइरहेको छ । यसका साथसाथै रेमिट्यान्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दती योजना सञ्चालनमा ल्याएको छ । हाल यस योजनाअन्तर्गत ११ दशमलव २५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा नौवटा, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चीप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा भिसा ईएमभी चीप बेस ट्राभल कार्ड, ई–कर्मस कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको छ ।