काठमाडौँ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ । यस सम्झौताले राष्ट्रिय वाणिज्य बैंकका प्रयोगकर्ताहरूलाई मोबाइल बैंकिङ एपमार्फत खल्तीमा पैसामा राख्न गर्न सम्भव बनाएको छ ।
यो सम्झौतासँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब विनाझन्झट ‘खल्ती’ वालेटमा पैसा राखी सबै प्रकारको भुक्तानी गर्नसक्ने भएका छन् । उक्त सम्झौतासम्बन्धी खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘राष्ट्रिय वाणिज्य बैंकसँगको साझेदारीले निश्चित रूपमा बैंक र खल्तीका लाखौँ ग्राहकहरूले भुक्तानी, वित्तीय सेवाहरू र गतिशीलताको आनन्द लिन सक्नेछन् र हामी यस साझेदारी साँच्चै उत्साहित छौँ ।
यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा साबित हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।
‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरूको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तैः मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा बढी सेवाहरूको डिजिटल भुक्तानी तथा रकम आदान प्रदानको सेवा दिँदै आएको छ ।
यसका साथै विभिन्न क्यास ब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताहरूलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ ।