काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड, आर एन्ड डी. इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरणमार्फत आत्मनिर्भर एव व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एन्ड डी. इनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट नगरपालिकाका उपमेयर विणादेवी राई र इन्फीकेयर प्रालिका निर्देशक सविन मानन्धरले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले आर एन्ड डी. इनोभेटिभ सोलुसन प्रालि तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेसामा आबद्ध व्यावसायिक कृषहरूलाई आवश्यक मलखाद, बीउबिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्डमार्फत सहुलियतपूर्ण ब्याजदरमा कृषिकर्जा उपलब्ध गराउनेछ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र आर एन्ड डी. इनोभेटिभ सोलुसन प्रालिले कृषक पहिचान तथा कृषकहरूलाई आवश्यक तालिम प्रदान गर्नेछन् ।
कर्जा, नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाअनुसार ब्याज अनुदान प्रदान गरिनेछ । कृषि सामग्री बिक्रेता दर्ता गर्ने (डेटाबेस व्यवस्थापन) तथा कार्डमार्फत हुने भुक्तानीको प्राविधिक सहजीकरण इन्फी केयर प्रालिले गर्नेछ ।
बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा बैंकको दुई सय ८७ वटा शाखा, दुई सय ५२ वटा एटीएम, दुई सय ६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।