काठमाडौँ । मार्जिन लेन्डिङ (सेयर धितो कर्जा) शीर्षकमा बैंक तथा फाइनान्स कम्पनीहरुले एक खर्ब एक अर्ब ९५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कर्जासम्बन्धी नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा मात्र सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुुल ६१ वटा संस्थाहरुले उक्त परिमाणमा सेयर धितो शीर्षकमा मात्र प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ४८ खर्ब चार अर्ब २० करोड ७० लाख एवं ४५ खर्ब ५५ अर्ब २४ करोड ९० लाख रुपैयाँ रहेको थियो । ‘वाणिज्य बैंकहरुको मात्र सातवटा प्रदेशको ७७ वटै जिल्लाहरुमा कुल चार हजार आठ सय ४३ वटा शाखाहरु रहेको र यी सबै शाखाहरुबाट वाणिज्य बैंकहरुले सेयर धितोमा मात्र ८६ अर्ब १४ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्’, राष्ट्र बैंकले भनेको छ । यस अवधिमा वाणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप एवं कर्जा रकम भने ४२ खर्ब ३५ अर्ब २२ करोड रुपैयाँ र ४० खर्ब ४० अर्ब २३ करोड ७० लाख रुपैयाँ रहेको छ ।
विकास बैंकहरुले भने चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा सेयर धितो शीर्षकमा कुुल १२ अर्ब ३५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंकहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः चार खर्ब ७६ अर्ब १५ करोड ५० लाख र चार खर्ब २८ अर्ब ३४ करोड ३० लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
विकास बैंकहरुको कुुल शाखा संख्या भने देशभर एक हजार ४९ वटा रहेको राष्ट्र बैंकले जनाएको छ । फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो चार महिनामा सेयर धितो शीर्षकमा तीन अर्ब ४३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त अवधिमा फाइनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप ९२ अर्ब ८३ करोड ३० लाख र कुल कर्जा रकम ८१ अर्ब ८७ करोड ९० लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुको सबै क्षेत्रमा गरी कुुल दुई सय ४४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।