काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयबाट गरिब, जेहेन्दार तथा असाहय विद्यार्थीलाई दिने छात्रवृत्ति नरोक्न विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर उनले छात्रवृत्ति समयमा विद्यार्थीस्तरमा पु-याउन निर्देशन दिएका हुन् ।
‘कुनै पनि छात्रवृत्तिको पैसा फिर्ता हुन भएन,’ मन्त्री पौडेलले भने, ‘छात्रवृत्ति समयमा विद्यार्थीस्तरमा पुग्नुप¥यो फिर्ता हुँदा सन्देश राम्रो जाँदैन ।’ यस्तै उनले शिक्षा मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखलाई १५ –१५ दिनभित्रको कार्यसम्पादनको रिपोर्ट बुझाउन पनि निर्देशन दिएका छन् । ‘एक हप्तामा गर्न सक्ने काम के–के हुन् टिर्पोट गर्नुहोस्’ उनले भने, ‘अर्को हप्ता काम गरी नतिजा नस्किने गरी काम हुनप-यो होइन भने कारण चाहियो ।’
मन्त्री पौडेलले ५०औँं वर्षदेखि अड्किएका फाइलहरूको विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशन समेत दिए । ‘फाइलहरू अड्काएर हुँदैन, मन्त्रीहरू फेरिरहने हुन्छ, सेवा ग्राहीको पनि आशा हुन्छ,’ उनले भने, ‘हप्ता दिन अध्ययन गरेर हुने नहुने निर्णय दिनुहोस् ।’ मन्त्रालयले बनाएको लक्ष्य पूरा गर्न कर्मचारीमा संकल्प, इच्छा शक्ति र सक्रियाता हुनपर्नेमा जोड दिँदै उनले देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो शिक्षा मन्त्रालय भएको बताए ।
कमान्ड कन्ट्रोल भएन भने भद्रागोल हुने भन्दै उनले कुनै समस्या भए सचिवमार्फत ल्याउन समेत आग्रह गरे । यस्तै शिक्षा, राज्यमन्त्री बोधमाया यादवले विद्यालयमा समयमा नै पाठ्यपुस्तक पु-याउन अहिलेदेखि नै लाग्नुपर्ने बताइन् ।