काठमाडौं । ज्योति विकास बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले शुक्रबार नक्साल, काठमाडौँमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । वार्षिक साधारणसभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था समेत गरिएको बैंकले जानकारी दिएको छ ।
सभाले बैंकको आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरूलाई हाल कायम भएको चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर तथा चार दशमलव पाँच प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ११ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी चार अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
साथै बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आसार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरूउपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
साधरणसभाको अवसरमा बैंकले तम्घास, मुर्गिया र टाँडीस्थित थप ३ नयाँ शाखा कार्यालयहरूको उद्घाटन पनि गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले डिजिटल प्रविधिमार्फत क्रमश बैंकको १०६औँ, १०७औँ र १०८औँ शाखाको उद्घाटन गरेका हुन् । यसपश्चात् उपत्यका र उपत्यकाबाहिर गरी बैंकका शाखा कार्यालयहरूको संख्या एक सय आठ पुगेको छ ।