काठमाडौं माघ २२
नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रणेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह एडिडास १० किलोमिटर रोड रेस प्रतियोगिता’ हुने भएको छ । रुटस फेसन प्रालिले आगामी फागुण २४ गते शनिबारका दिन सो प्रतियोगिता आयोजना गर्न लागेको हो । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रालिका प्रबन्धनिर्देशक सञ्जिब तुलाधरले प्रतियोगिता एडिडास शोरुम दरबारमार्गबाट सुरु भई महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, जमल, राजदरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, प्रहरी हेडक्वार्टर, गैरीधारा, राजदरबार उत्तरपूर्व मोड, नागपोखरी, जय नेपाल सिनेमा घर हुँदै पुन एडिडास शोरुम दरबारमार्गमा पुगेर समापन हुनेछ ।
प्रतियोगिताका महिला तथा पुरुषतर्फका प्रथम विजेताले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने द्वितीय हुनेले ३० हजार नगद प्राप्त गर्नेछन् । यसैगरी तेस्रो प्रतियोगीले १५ हजार, चौथोले १० हजार र पाँचौँ हुने प्रतियोगीलाई ५ हजार नगद दिइने तुलाधरले जानकारी दिए । उनका अनुसार छैठौँदेखि दशौं स्थान प्राप्त गर्ने प्रतियोगीलाई चार हजार रकमबराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको छ । रोड रेस प्रतियोगितामा करिब पाँच सय प्रतियोगी सहभागी हुने अनुमान आयोजकको रहेको छ । यसैगरी प्रतियोगितामा अनुमानित १० लाख रकम खर्च हुने बताइएको छ ।