काठमाडौँ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलमेन्ट कम्पनी (एचआईडीसीएल)ले सेयरधनीहरूलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको बिहीबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले ८ प्रतिशत बोनस सेयर र शून्य दशममलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
सञ्चालक समितिले चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुने एक अर्ब ४९ करोड ६० लाख रूपैयाँबराबरको बोनस सेयर र चुक्ता पुँजीको शून्य दशमलव ४२ प्रतिशतका दरले हुने सात करोड ८७ लाख ३६ हजार आठ सय ४२ रूपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो ।
यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आसार मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितका वित्तीय विवरण तथा चार्टर्ड एकाउन्टेन्ट सृष्टि कोइरालालाई आर्थिक वर्ष ७०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको थियो । यस्तै सभाले सर्वसाधारण समूहका सेयरधनीहरूबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन समेत गरेको छ । सुधीर ज्ञवाली सञ्चालक पदमा निर्वाचित भएका छन् ।
यस्तै कम्पनीको प्रवन्धपत्र र नियमावली समेत संशोधन गरिने भएको छ । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सोअनुरूप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । हालसम्म कम्पनीले जलविद्युत् क्षेत्रमा मात्र लगानी गर्दै आएको थियो ।
सभाले प्रबन्धपत्रमा संशोधन गरी कम्पनीको उद्देश्य विस्तार गरी अन्य नवीकरणीय ऊर्जाका क्षेत्रमा समेत लगानी गर्नसक्ने गरी आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । यस्तै सभाले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा भुक्तानी गरेको आठ लाख रूपैयाँ र राष्ट्रिय आविष्कार केन्द्रलाई भुक्तानी गरेको दुई लाख रूपैयाँ सहयोगको पनि अनुमोदन गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।
कम्पनीको अधिकृत पुँजी ५० अर्ब रूपैयाँ, जारी पुँजी २२ अर्ब रूपैयाँ र हालको चुक्ता पुँजी १८ अर्ब ७० करोड रूपैयाँ रहेको छ । साथै बोनस सेयर वितरण भएपश्चात् कम्पनीको चुक्ता पुँजी २० अर्ब १९ करोड ६० लाख रूपैयाँ हुने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो उद्देश्यबमोजिम विभिन्न जलविद्युत् आयोजनाहरू, प्रसारण कम्पनी एवं इन्जिनियरिङ कम्पनीहरूमा ऋण तथा सेयर लगानी गरेको छ । कम्पनीले कुल चार सय ४२ दशमलव २ मेगावाट क्षमताका १२ वटा विभिन्न जलविद्युत् आयोजनाहरूमा छ अर्ब ९७ करोड रूपैयाँ ऋण लगानीको प्रतिबद्धता जनाएको छ ।
जसमध्ये २०७८ असोज मसान्तसम्ममा चार अर्ब ९१ करोड रूपैयाँ ऋण प्रवाह गरिसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतमले जानकारी दिए । यसैगरी कम्पनीले नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणबाट प्रवद्र्धित जलविद्युत्सँग सम्बन्धित विभिन्न चारवटा कम्पनीहरूमा ९२ दशमलव तीन करोड रूपैयाँ सेयर लगानी गर्ने प्रतिबद्धता गरेको र गत असोज मसान्तसम्ममा ३५ करोड ६६ लाख रूपैयाँ सेयर रकम भुक्तानी समेत गरिसकेको उनको भनाइ छ ।
कम्पनीले कुल सात सय ६२ दशमलव ३ मेगावाट क्षमताका छवटा विभिन्न जलविद्युत् आयोजनाहरूमा छ अर्ब ७३ करोड रूपैयाँ सेयर लगानीको प्रतिबद्धता जनाई गत असोजसम्ममा एक अर्ब ५१ करोड रूपैयाँ सेयर रकम भुक्तानी गरेको जनाएको छ । यस्तै कम्पनीले सहायक कम्पनीहरू रेमिट हाइड्रो लिमिटेडमार्फत ७७ दशलमव पाँच मेगावटको घुन्साखोला जलविद्युत् आयोजना र सिम्बुवा रेमिट हाइड्रो लिमिटेडमार्फत ७० दशमल ३ मेगावटको सिम्बुवा खोला जलविद्युत् आयोजना निर्माण गर्ने कार्य अघि बढाएको गौतमले बताए ।
उक्त दुवै आयोजनाहरूको विस्तृत अध्ययनको कार्य अन्तिम चरणमा रहेको उनको भनाइ छ । विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भएपश्चात् सो आयोजनाहरूको निर्माणका लागि आवश्यक वित्तीय स्रोतको प्रबन्ध गरी निर्माण प्रक्रिया अघि बढाइने गौमले जानकारी दिए ।