काठमाडौँ । कोरोना संक्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सफ्ट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ प्रजाति आमिक्रोनको संक्रमण विस्तार भएको तथा देशव्यापी रूपमा संक्रमितको संख्यामा बढोत्तरी भएपछि सीसीएमसीका तर्फबाट त्यस्तो सिफारिस भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार मात्रै देशभर एक हजार एक सय ७६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमणको मात्रामा पछिल्ला दिनमा व्यापक वृद्धि भएको छ । कम्तीमा पनि १५ दिन विद्यालयलगायत बढी भिडभाड हुने सार्वजनिक स्थानलाई बन्द गर्न सिफारिस गरिएको छ । कोभिड–१९ सफ्ट व्यवस्थापन समन्वय केन्द्रका सहसचिव एवं प्रवक्ता सुनिता नेपालका अनुसार कोरानाको बढ्दो जोखिमलाई ख्याल गर्दै तत्कालका लागि आगामी माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरिएको छ । सीसीएमसीले गरेको सिफारिसलाई कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ । केही विद्यालयले हिउँदे बिदा गरेका छन् । केही विद्यालय तथा कलेजमा परीक्षा जारी छ । परीक्षा जारी रहेका कलेजलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । हिउँदे बिदा गरेका विद्यालयलाई भने आगामी माघ १५ सम्म लैजान भनिएको छ ।