लण्डन । फ्रान्स र अमेरिकामा चर्चित प्रविधि कम्पनी गुगलले धक्का व्यहोरेको छ । फ्रान्सेली नियामकले गुगल र फेसबुकलाई कुल २१ करोड युरो जरिवाना गरेको जनाइएको छ ।
तथ्यांकको गोपनीयतासम्बन्धी अनुगमनकर्ताहरु (वाचडग)ले दुवै कम्पनीलाई प्रयोगकर्तालाई अनलाइन ट्र्याकरहरुलाई कुकिज प्रयोगमा अस्वीकार गर्न अप्ठ्यारो बनाइरहेको बताएका थिए । कुकिज प्रयोगका लागि अनुमति माग्नैपर्ने युरोपेली संघको तथ्यांक गोपनीयता नियमनभित्र प्राथमिकतामा पर्छ । यी दुवै कम्पनीले अब तीन महिनाभित्र युरोपेली नियम मान्नुपर्ने वा मान्न ढिलाइ गरे हरेक दिनका लागि एक लाख युरो जरिवाना तिर्नुपर्नेछ ।
कुकिज भनेका तथ्यांकको सानो पुञ्ज हो जसले वेब ब्राउजरहरुलाई सम्बन्धित सूचना भण्डारण र उपलब्ध गराउँछ । जस्तो लक्षित विज्ञापनहरु यसको उदाहरण हो । ‘जब तपाईं कुकिज एसेप्ट (स्वीकार) गर्नुहुन्छ, यो भइहाल्छ’, वाचडग सीएनआईएलकी तथ्यांक संरक्षण प्रमुख करिन काइफर भन्छिन् । कुकिज रिजेक्ट अर्थात् अस्वीकार पनि स्वीकारजस्तै सजिलो हुनुपर्ने उनको भनाइ छ ।
आफ्नो भनाइमा सीएनआईएल अर्थात् कमिसन नेशनाले इन्फरमेटिक एन्ड लिबर्टेसले आफूले यी कम्पनीहरुले कुकिज स्वीकार्न तुरुन्तै अप्सन बटन दिएको तर अस्वीकार गर्ने बटन नै दिन नमानेको पाएको उल्लेख गरेको छ । गुगललाई १५ करोड युरो जरिवाना गरिएको छ । फेसबुकलाई छ करोड युरो जरिवाना गरिएको छ । फेसबुकको कर्पोरेट कम्पनी मेटाले उक्त निर्णयको समीक्षा गरिरहेको जनाएको छ । यसअघि पनि प्रविधि कम्पनीहरुलाई युरोपले दण्डित गर्दै आइरहेको छ ।
यता गुगललाई अमेरिकामा पनि झट्का लागेको छ । स्मार्ट स्पिकर कम्पनी सोनोसले गुगलविरुद्धको पेटेन्ट अधिकारसम्बन्धी मुद्दामा विजय पाएको हो । योसँगै अब अमेरिकामा गुगलका समस्या पार्ने स्मार्ट स्पिकर र अन्य स्मार्टहोम प्रविधि आयात गर्न पाइनेछैन । सोनोसले गुगलले उसका स्पिकर ‘डिग्रेड’ गर्नुपर्नेछ ।
तर गुगलले भने अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगको उक्त निर्णयमा असहमति जनाएको छ । उसले सोनोसविरुद्ध आफ्नो प्रतिरक्षा जारी रहने जनाएको छ ।