काठमाडौं । जसरी अन्यायमा परेका जनताहरु न्याय खोज्न वडा, नगर, जिल्ला हुँदै अदालतसम्म पुग्छन् त्यसरी नै इन्स्योरेन्स अर्थात् बीमामा ठगिएका सर्वसाधारणहरुले न्याय खोज्ने पहिलो ठाउँ भनेको बीमा समिति हो र त्यही ठाउँबाट सर्वसाधारणहरु न्याय पाउनुको साटो अपमानित भएर फर्किनुप-यो भने कस्तो होला ?
सोमबार बीमा समितिमा यही दृश्य देखियो । आफूले न्याय पाउनुप-यो भनेर न्याय खोज्न पुगेका बैतडीका जय सिंह धामीलाई बीमा समितिका उपनिर्देशक विरोध भट्टले आफ्नो बल देखाउँदै ‘आइजो एक–एक लडूँ’ भन्दै बीमा समितिको गेटबाट करिब ५० मिटर परसम्म लखेट्दै फिर्ता पठाएका हुन् ।
कोरोनाको समयमा कोरोना बीमा गरेका पीडित धामीले आफ्नो कुरो इन्स्योरेन्स गरेको कम्पनीले नसुनेको र आफूले भन्दा पछाडि इन्स्योरेन्स (बीमा) गरेकाहरुले समेत शक्ति र पहुँचका आधारमा भुक्तानी पाएको तर आफूले नपाएको भन्दै बीमा गराउने इन्स्योरेन्स कम्पनीविरुद्ध उजुरी गर्न बीमा समिति पुगेका थिए । उजुरी गर्न बीमा समिति पुगेका धामीलाई इन्स्योरेन्स क्षेत्रको नीति नियम बनाउने बीमा समिति जस्तो आफैँमा गरिमा बोकेको संस्थाका उपनिर्देशकजस्तो ओहोदामा रहेका व्यक्तिले सार्वजनिक स्थानसम्म नै पुगेर ‘एक–एक लडूँ’, ‘आइज’ भन्दै भिड्न बोलाउनु आफैँमा सरकारी कर्मचारीमा हुनुपर्ने अनुशासनको उल्लंघन हो ।
सार्वजनिक सडकमा सर्वसाधारण लखेटिँदै गरेको देख्ने प्रत्यक्षदर्शीका अनुसार कार्यालय समयमा सामान्य अनुशासन समेत नभएको र आफ्नो व्यक्तिगत समस्या सेवा लिन आएका सर्वसाधारणलाई देखाएको जस्तो व्यवहार गरी उपनिर्देशक भट्टले पीडित धामीलाई लखेटेका थिए ।
उनका अनुसार बीमा समितिका उपनिर्देशक भट्टले आफ्नो मुखमा आएको जति गाली गर्दै पटक–पटक सार्वजनिक सडकमा नै एक एक लड्न चुनौती दिएका थिए । आर्थिक दैनिकसँग कुरा गर्दै पीडित धामीले आफ्नो गुनासो समेत सुन्न नखोजी पन्छिएर आफूलाई बीमा समितिबाट निकालिएको बताए । पीडित धामीका अनुसार उनले भन्दा पछाडि कोरोना बीमा गरेका अन्य व्यक्तिहरुले भुक्तानी लिइसकेका छन् ।
आफूले जायज माग राख्दा कानुन विभागका प्रमुख समेत रहेका उपनिर्देशक भट्टले आफूलाई तपाईंको काम हामी गर्न सक्दैनौँ भन्दै बीमा समितिबाट निकालिएको बताए । त्यसो त प्रत्यक्षदर्शीको सल्लाहअनुसार उनले प्रहरी बोलाए । प्रहरीले वार्तामा बस्न आग्रह गर्दा उपनिर्देशक भट्टले आफूले गलत नगरेको र धामीविरुद्ध आफैँ उजुरी हाल्ने भन्दै वार्तामा बस्न समेत अटेर गरेका थिए । प्रहरीको आग्रहपछि वार्तामा बस्न जाँदै गर्दा समाचार संकलनको लागि पुगेका पत्रकारहरुलाई समेत को पत्रकार के गर्छ, आइजो भन्दै उपनिर्देशक भट्ट माथिल्लो तल्लामा उक्लेका थिए ।
वार्तापछि प्रहरीले पीडित धामीलाई कोही पनि पत्रकारहरुसँग कुरा नगरी जान दबाब दिँदै त्यहाँबाट भगाएको थियो । पीडितलाई धकेल्दै लखेट्दै गेटबाहिर पु-याउने उपनिर्देशक भट्टले उपस्थित पत्रकारहरुसँग यो अर्थ मन्त्रालयकै समस्या र बीमा समितिका उच्च कर्मचारीहरुको नालायकपनको शिकार आफू भएको र आफ्नो केही गल्ती नभई पीडित धामीले आक्रमण गर्न खोजेपछि व्यक्तिगत रुपमा आफ्नो सुरक्षाको लागि उनलाई लखेट्दै गेटबाहिर पु-याएकोले यसमा आफ्नो पक्षमा समाचार सम्प्रेषण गर्न आग्रह गरे । बीमा समितिभित्र समेत को आफ्नो र को पराइको व्यवहार हुँदै आएको समेत उनले पत्रकारहरुसँग गुनासो गरे ।
एक कप चिया पिउन समेत माथिकाले पाउने हामीहरुले नपाउने भन्दै अध्यक्ष तथा कार्यकारी निर्देशकको भवनतिर देखाउँदै उपनिर्देशक भट्टल यो घटनासँगै आफूले माथिल्लो तहमा आफू यस किसिमको झन्झटमा नबस्ने भनेको बताए । कोरोना बीमा भुक्तानी नभएर जनताहरु आक्रोशित भएको समयमा उजुरी दिन आउने पीडितहरुलाई सम्झाउनुपर्नेमा अनुशासनबाहिर गएर आफ्ना कर्मचारीहरुले गेट बाहिरसम्मै लखेट्नु दुःखद भएको भन्दै बीमा समितिका प्रतिनिधिले भने समितिकै गरिमामा आँच आउने काम गर्ने यस्तो कर्मचारीलाई बीमा समिति बोर्डले नै निर्णय गरेर अनुशासनको कारबाही गर्नुपर्ने पीडितको माग छ ।
सरकारले कोरोना बीमाको भुक्तानी समयमा नै गर्न नसक्दा यस्तो समस्या अझै बढ्दै जाने देखिन्छ । यो त एउटा प्रतिनिधि घटना मात्रै हो, भोलिका दिनमा यस्ता घटनाहरु अझै बढ्दै जानेछ । अझै पनि एक लाख १५ हजारभन्दा बढी पीडितहरुले भुक्तानी पाउन बाँकी छ ।