मस्को, माघ २२
रसियाका उद्योग तथा वाणिज्य मन्त्री डेनिस मान्टुरोभले भारतका लागि अत्याधुनिक प्रविधिको एस–४०० प्रतिरक्षा प्रणाली निर्माण गर्न थालिएको जानकारी दिएका छन् । उनले रसिया र भारतबीच सम्पन्न सम्झौता अनुरुप अल्माज–आन्टे कम्पनीले उक्त उपकरणको उत्पादन सुरु गरेको र तोकिएकै मितिमा भारतलाई हस्तान्तरण गरिने बताएको एएनआईले जनाएको छ । भारतले पाँच वटा एस–४०० प्रतिरक्षा प्रणालीका लागि रसियासँग ५ अर्ब ४३ करोड अमेरिकी डलरको सम्झौता गरेको थियो ।
मन्त्री मान्टुरोभले एस–४०० का लागि तालिम केन्द्र भारतमा निर्माण गर्न थालिएको पनि जानकारी दिए । रसियाले निर्माण गरेको यस अत्याधुनिक प्रतिरक्षा उपकरणलाई लिएर अमेरिकाले विशेष चासो दिने गरेको छ । टर्कीले यस्तै उपकरण खरिद गरेको भन्दै टर्की विरुद्ध अमेरिकाले सैनिक सहयोग र सहकार्य रोक्ने वा कटौती गर्ने चेतावनी दिइसकेको छ ।