काठमाडौँ । मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलो पटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्याँस तथा जैविक मल उत्पादन सुरु गरिएको छ ।
भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको निजी सार्वजनिक साझेदारी अवधारणाअनुरूप निजी क्षेत्रबाट स्थापित यस आयोजनाको वित्तीय साझेदार मेगा बैंक रहेको छ ।
उद्घाटन समारोहमा मेगा बैंकका तर्फबाट अध्यक्ष भोजबहादुर शाह र सीईओ अनुपमा खुञ्जेली अतिथिका रूपमा उपस्थित रहेका थिए । फोहोरलाई ऊर्जामा परिणत गर्ने राष्ट्रिय महत्वको यस आयोजनामा वित्तीय साझेदारी गर्न पाउँदा अत्यन्तै गौरवान्वित भएको मेगा बैंकका अध्यक्ष शाहले बताए ।
यसैगरी, सीईओ खुञ्जेलीले फोहोरबाट ग्याँस तथा मल उत्पादन हुँदा फोहोर व्यवस्थापन मात्र नभई थोरै मात्रामा भए पनि देशलाई ऊर्जाको आयात प्रतिस्थापन गर्न र व्यापारघाटा कम गर्न समेत मदत मिल्ने बताइन् । दीर्घकालीन महत्वका यस्ता आयोजनामा साझेदारी गर्न मेगा बैंक सधैँ तत्पर रहेको उनले बताइन् ।
दैनिक ३० टन क्षमताको यस फोहोर प्रशोधन केन्द्रबाट दैनिकरूपमा करिब एक हजार किलोग्राम जैविक मल ग्याँस, करिब पाँच सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुनेछ । साथै, यो केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आए करिब ८० जनाले रोजगारी पाउने बताइएको छ ।
यस फोहोर प्रशोधन केन्द्रका संस्थापकद्वय विपुलराज पाण्डे र जेनेश श्रेष्ठका अनुसार, यहाँबाट उत्पादित जैविक ग्याँसलाई शुद्धीकरण गरी सीएनजी ग्याँस उत्पादन हुनेछ । जसबाट धरानमा रहेका तीनपाङ्ग्रे सवारीसाधन (टेम्पो)मा प्रयोग गरिनेछ । धरानमा रहेका करिब तीन सयवटा टेम्पोहरूमा सिलिन्डरसहितको एक किटको जडान गरी सञ्चालन गर्न सकिनेछ ।
यहाँबाट उत्पादित सीएनजी ग्याँसको प्रयोगले दैनिक करिब १५ सयदेखि दुई हजार लिटर पेट्रोल आयात प्रतिस्थापन हुनेछ । जसबाट हालको बजार मूल्यमा करिब १० करोड रुपैयाँको आयात कम हुने विश्वास लिइएको छ । विश्वका प्रायजसो मुलुकमा ठूलो मात्रामा प्रयोग भइरहेको सीएनजी ग्याँस पेट्रोलभन्दा सस्तो हुने पेट्रोलभन्दा बढी माइलेज दिनुका साथै वातावरणमैत्री समेत रहेको छ ।
मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० वटा तीनपाङ्ग्रे टेम्पोलाई सीएनजी ग्याँसमा लाग्ने कन्भर्सन किट निःशुल्क सहयोग गर्ने तयारी गरेको जानकारी दिएको छ ।