काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबीच फोकुसोन पेमेन्ट सोलुसनको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र फोकुसोन पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्तरूपमा हस्ताक्षर गरेका हुुन् ।
मोको एप नेपालमा पहिलोे ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्यूआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् । कामना सेवा विकास बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरूले अब मोको एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरिद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा एक सय २९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्ट र एउटा शाखारहित बैंकिङ सेवातथा ७७ वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ ।
साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समय सापक्षे आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।