काठमाडौँ । पुँजीगत खर्च बढाउन नसकेको भन्दै आलोचना खेपिरहेको सरकारले हालसम्म २९ दशमलव ११ प्रतिशत बजेट खर्च भइसकेको जानकारी दिएको छ । पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । सोमबारसम्मको तथ्याङ्कअनुसार उक्त अनुपातमा बजेट खर्च भएको हो ।
मन्त्रालयका अनुसार कुल खर्चमध्ये पुँजीगत खर्च नौ दशमलव ३९, चालू खर्च ३८ दशमलव नौ र वित्तीय खर्च २५ दशमलव ४१ प्रतिशत छ । यसैबीच, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को बाँकी छ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई यस्तो आग्रह गरेका हुुन् ।
उनले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको भन्दै जसरी पनि खर्च गर्न आग्रह गरे । ‘आर्थिक वर्षको छ महिना बितिसक्यो । बाँकी छ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उनले भने, ‘त्यसको लागि मैले रातको १२ बजे पनि तपाईँहरूलाई सहयोग गर्न तयार छु ।’
मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न बताउँदै जसरी पनि खर्च बढाउन आग्रह गरेका हुन् । उनले ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिए । ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उनको भनाइ छ ।
त्यस्तै उनले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याए । उनले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै अब डिजिटल माध्यममा लैजानुपर्ने बताए । ‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई/चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उनले भने, ‘यसलाई डिजिटल माध्यममा लैजानुप-यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुप-यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’