काठमाडौँ । ज्योति विकास बैंकले ट्राफिक लाइट हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवद्र्धन कोषअन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं १ महेन्द्र सालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाइट एक समारोहका बीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो ।
बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौँ महानगरपालिका वडा नं. १ का वडा सदस्य अशोक कुमार श्रेष्ठद्वारा संयुक्तरूपमा ट्राफिक लाइटको उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टलगायत बैंकका विभिन्न पदाधिकारीहरू र महानगरीय ट्राफिक प्रहरी वृत्तका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख भट्टराईले बैंकले गरेको कार्य निकै सराहनीय रहेको र बैंकप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
ट्राफिक लाइट जडान तथा सञ्चालन भएसँगै महेन्द्र सालिकचोकमा राखिएको ट्राफिक लाइटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ । नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्षरूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ ।
बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।