विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट सौर्य एयरलाइन्समा पक्राउ परेको ५० लाख प्रकरणको विवादमा तानिएका सौर्य एयरलाइन्सका सञ्चालक एवं सुपारी कारोबारी दिपक पोखरेललाई राजस्व अनुसन्धान विभागले सफाइ दिने तयारी थालेको छ ।
पक्राउ परेको ५० लाख आफ्नो भएको दाबीसहित विभागमा उपस्थित भएका पोखरेललाई राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको दबाबमा क्लिनचिट दिने तयारी गरिएको राजस्वस्रोतले बताएको छ । सुपारी कारोबारी पोखरेललाई क्लिनचिट दिनका लागि विभागीय मन्त्री अर्थात्र स्वयं प्रधानमन्त्री समेतले निर्देशन दिएको स्रोतको भनाइ छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको थिए । विभाग अहिले पनि प्रधानमन्त्री कार्यालय मातहत नै भएका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले नै विभाग हेर्दै आएका छन् । ५० लाख प्रकरणमा तानिएका पोखरेलाई क्लिनचिट दिलाउन पनि माथिबाट नै निर्देशन भएको स्रोतको दाबी छ ।
तत्कालीन ओली सरकारले केराउ, सुपारी, छोकडा र मरिचको कोटा वितरण गरेर खुसी बनाएका सुपारी कारोबारी दिपक पोखरेललाई वर्तमान देउवा सरकार पनि खुसी बनाउने काममा सक्रिय बन्न थालेको बताउन थालिएको छ । त्यसका लागि फेरि पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिमाणात्मक बन्देजसहित यी वस्तुको आयात खुलाउने तयारी गरेको छ ।
स्रोतका अनुसार पछिल्लो समय देउवा सरकारले उच्च राजनीतिक तहबाट सीमित व्यापारिक फर्मलाई कोटा दिन निर्देशनात्मक दबाब दिएको छ । अर्कातिर पोखरेल समूहमा नभएका अन्य सुपारी व्यापारीले सुपारीको कोटा आफूहरुले नपाए यस पटक कोटा माग्दै विभाग नै घेराउ गरेर बस्ने रणनीति बनाएका छन् । तर सरकार भने सुपारी कारोबारी पोखरेललाई नै फाइदा पुग्ने गरी परिमाणात्मक बन्देजसहितको २५ हजार मेट्रिकटन सुपारीको कोटा खुलाउने तयारीमा रहेको स्रोतको दाबी छ । उक्त सुपारी कोटा पनि प्रक्रिया पूरा गर्नका लागि मात्रै खोल्न लागिएको बताउन थालिएको छ ।
विगतमा ओली सरकारले सुपारीको कोटा वितरण गर्दा वाणिज्य विभागमा महानिर्देशकका रुपमा कार्यरत रहेका प्रकाश पौडेल अहिले राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा कार्यरत रहेका कारण पनि सुपारी कारोबारी दिपक पोखरेलका लागि सहज वातावरण भएको बताइन्छ । सौर्य एयरलाइन्समा भएको ५० लाख प्रकरणमा पनि राजस्व अनुसन्धान विभागका महानिर्देशक पौडेलले नै महत्वपूर्ण भूमिका निर्वाह गरी पोखरेललाई क्लिनचिट दिलाउने प्रयास गरिरहेको स्रोतको दाबी छ ।