काठमाडौं, माघ २२
नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । बैंकले आठ अर्बबराबरको एक सय रूपैयाँ अंकित दरको आठ करोड कित्ता सर्वसाधारणहरूका लागि निष्काशन गर्ने साधारण सेयर/ धितोपत्र प्रत्याभुतिको लागि नागरिक लगानी कोषलाई प्रत्याभुतिकर्तामा नियुक्त गरेको हो ।
सम्झौतामा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरेका हुुन् । नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै देशकै ठूलो सार्वजनिक निष्काशन हुनेछ । बैंकको अधिकृत पुँजी ४० अर्ब, जारी पुँजी २० अर्ब र चुक्तापुँजी १२ अर्व रहेको छ भने सर्वसाधारणहरूलाई सेयर निष्काशन गरी बाँडफाँट गरेपछि बैंकको चुक्तापुँजी २० अर्ब हुनेछ ।
काठमाडौँ महानगरपालिका वडा नं.१० नयाँ बानेश्वर, काठमाडौँमा रजिष्टर्ड कार्यालय रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले २०७५/१०/२८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रूपमा कार्य गर्न स्वीकृति प्राप्त गरीे २०७५/११/२२ गतेदेखि आफ्नो बैंकिङ कारोबार शुुभारम्भ गरेको हो ।
जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फन पार्क, केवलकार, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरूमा स्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी त्यसप्रकारका परियोजनाहरूलाई आवश्यक पर्ने स्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।