काठमाडौं । महालक्ष्मी विकास बैंकको २०औँ वार्षिक साधारणसभा पुनः रोकिएको छ । यसअघि बैंकले यही पुस २५ गते आफ्नो २०औँ वार्षिक साधारणसभा आह्वान गरेको थियो । तर सञ्चाकहरुबीच विवाद बढेको र उक्त वार्षिक साधारणसभामा सञ्चालकहरुको निर्वाचन प्रमुख एजेण्डा रहेको थियो । तर विवाद बढेपछि गिरिराज पोखरेलसहितका व्यक्तिहरुले महालक्ष्मी विकास बैंक, बैंकका अध्यक्ष राजेश उपाध्यायसहितका व्यक्तिहरुलाई विपक्षी बनाएर उत्प्रेषणसम्बन्धी मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामा उच्च अदालत पाटनले पूर्वनिर्धारित कार्यतालिकाअनुसार सञ्चालक समितिको निर्वाचनबाहेक सबै कार्यक्रम गर्नु भनेर अल्पकालीन आदेश जारी गरेको थियो । सोही आदेशअनुरुप पुस २५ गते बैंकले साधारणसभा गरेको थियो ।तर उक्त साधारणसभामा कोरम नपुगेपछि बीचैमा सभा रोकिएको थियो । तर अहिले सञ्चालकहरुबीचको विवाद कायम नै छ ।
सोही अवस्थामा गिरीराज पोखरेलसहितका दुई जना व्यक्तिले अन्तरिम आदेशसहितको उत्प्रेषण, परमादेश वा अन्य जे जो चाहिने आदेश जारी गरिपाऊँ भन्दै दायर गरेको मुद्दामा आइतबार न्यायाधीश विपुल न्यौपानेको एकल इजलासले वार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश जारी गरेको अधिवक्ता अरुण पौडेलले जानकारी दिए ।