काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर सुरु भएपछि सरकारले पहिलो चरणमा केही निश्चित व्यवसाय बन्द गर्न निर्देशन दिएको छ । सरकारले आइतबार अध्यादेश जारी गर्दै उक्त निर्देशन दिएको हो । केही व्यवसाय बन्द गर्दा पनि कोरोना संक्रमण नरोकिए सरकारले निषेधाज्ञा नै गर्ने योजना बनाएको छ ।
आइतबार कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गर्दै सरकारले सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ क्लब, जिम, स्विमिङ पुल, फुटसल, हाटबजार र मानिसको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम यही माघ १५ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । यसले ती व्यवसायलाई आर्थिक रुपमा थप कमजोर बनाउनेछ ।
अध्यादेशमा सरकारले सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । गोष्ठी, सेमीनार, समीक्षा, बैठकजस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमद्वारा गर्ने तथा भौतिकरूपमा उपस्थित भई गर्नुपर्ने काम जनस्वास्थ्यका मापदण्ड पालना र एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र रहने गरी सञ्चालन गर्न अनुमति दिने आदेशमा उल्लेख छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रण, निदान र उपचारका लागि आदेश जारी गर्न सरकार बाध्य भएको बताएका छन् । अब क्रमशः अन्य व्यवसायमा पनि कोरोनाको असर पर्ने देखिएको छ ।
सरकारले जारी गरेको आदेशमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टरलगायतका अन्य शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने निर्णय भएको छ । आदेशमा शैक्षिक क्रियाकलाप र शिक्षण सिकाइका गतिविधि भर्चुअल माध्यमबाट सञ्चालन गर्न भनिएको छ ।
विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सक शिक्षाका सबै किसिमका परीक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन सकिनेछ ।
यस्तै, मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने विषय आदेशमा उल्लेख छ । सरकारले सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा अन्य प्रकारका पसलमा एकपटकमा २५ जनाभन्दा बढी हुन नहुने गरी आदेश जारी गरेको छ । कुनै पनि सामान अनावश्यक रूपमा छुन नपाइने तथा दुई व्यक्तिका बीचमा कम्तीमा पनि दुई मिटर दूरी कायम गर्न एवं मास्क अनिवार्य, पटक–पटक साबुन पानीले हात धुने, सेनिटाइज गरी सञ्चालन गर्न पनि सरकारले भनेको छ ।
जनस्वस्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित धनी वा सञ्चालकको हुनेछ । पार्टी प्यालेसमा एकपटक कुल क्षमताको बढीमा एक तिहाइ नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने र सम्बन्धित जिल्ला प्रशासनबाट स्वीकृति लिनुपर्नेछ । सरकारले विवाह, व्रतबन्ध, न्वारन र पास्नीजस्ता धार्मिक तथा सांस्कृतिक, सामाजिक कार्यक्रम भौतिक दूरीलगायत जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने भएको छ ।
रङ्गशालामा दर्शकसहितको खेल गर्दा कुल क्षमताको एकतिहाइ मात्र हुने गरी जनस्वास्थ्य पालना गरी सञ्चालन गर्न पाइनेछ । उपस्थित दर्शकमध्ये आयोजनाको खर्चमा एकतिहाइ दर्शकलाई रेण्डम छनौटका आधारमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाउनुपर्नेछ । यही माघ ७ गतेपछि त्यस्ता खेलकुदमा खोपका मात्र पूरा गरेकालाई खोप कार्डका आधारमा रङ्गशालामा प्रवेश गर्न दिइनेछ । धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, नित्य संस्कारलगायतका अत्यावश्यक परम्परागत धार्मिक एवं सांस्कृतिक क्रियाकलापमा ५० भन्दा बढी व्यक्ति हुन नहुने उल्लेख छ ।
परीक्षण गरिएकामध्ये ३६ प्रतिशतमा कोरोना संक्रमण
कोरोना संक्रमितको संख्या दैनिक बढ्नथालेको छ । आइतबार मात्र देशभर थप चार हजार नौ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार देशभरमा चार हजार छ सय ३६ नयाँ सङ्क्रमित पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा आइतबर मात्र तीन हजार तीन सय ४७ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार पाँच सय ४५, ललितपुर चार सय ७४ र भक्तपुरमा तीन सय २८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये चार हजार पाँच सय ३४ को पीसीआर र चार सय २७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा १५ हजार एक सय ३१ जनाको नमूना परीक्षण गरिएको थियो । १२ हजार पाँच सय ६२ जनाले पीसीआर र दुई हजार पाँच सय ६९ जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औसत सङ्क्रमणदर ३६ दशमलव एक प्रतिशत छ ।