नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार दुई सय दुई जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परीक्षण गरिएका १६.२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । यसैसँगै भारतमा कूल संक्रमितको संख्या तीन करोड ७१ लाख २२ हजार एक सय ६४ पुगेको छ ।
सोही अवधिमा थप तीन सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८६ हजार ६६ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । हाल यहाँ सात हजार सात सय ४३ ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या १५ लाख ५० हजार तीन सय ७७ रहेका छन् । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको ४.१८ प्रतिशत भएको समाचारमा जनाइएको छ ।
भारतमा एक लाख ३८ हजार तीन सय ३१ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ५० लाख ८५ हजार सात सय २१ जनालाई कोरोना संक्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.५१ प्रतिशत रहेको जनाइएको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड २४ लाख ४८ हजार आठ सय ३८ भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५६ करोड ७६ लाखभन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ । रासस/एएनआई