काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मानवीय संकट गहिरिँदै गएको अफगानिस्तानका नागरिकका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत बन्दोबस्तीका सामग्रीहरू पठाएको छ । महासंघले उक्त सामग्री नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत त्यसतर्फ पठाएको हो ।
महासंघ अध्यक्ष शेखर गोल्छाले उक्त सामग्री परराष्ट्रमन्त्री डा. नारायण खडकालाई हस्तान्तरण गरेका थिए । मन्त्रालयको आग्रहमा महासंघले करिब आठ सय किलोग्राम बराबरको अत्यावश्यकीय भाँडाकुँडालगायत बन्दोबस्तीका सामग्रीहरु उपलब्ध गराएको हो । युद्धग्रस्त मुलुक अफगानिस्तानमा दैनिक उपभोग्य सामग्रीको चरम अभावले नागरिकको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको हुँदा जीवनयापन केही सहज होस् भनेर महासंघले उक्त सहयोग उपलब्ध गराएको हो ।
नेपालबाट सहयोग सामग्री बोकेको जाहाज आइतबार अफगानिस्तानको राजधानी काबुल उडेको थियो । मुलुकभित्र वा बाहिर समस्यामा परेका सर्वसाधारण नागरिकको सहयोगका लागि महासंघले सधैँ अग्रभागमा रहेर सहयोग गर्दै आएको छ ।