काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले मोडर्न रेमिट्यान्स प्रालिसँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र मोडर्न रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत साधुराम खड्काले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापश्चात् ग्राहकहरूले विश्वका विभिन्न स्थानहरूबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानहरूमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरूमार्फत सेवा प्राप्त गर्न सक्नेछन् । अब महालक्ष्मी विकास बैंकका ग्राहकहरूले संसारको कुनै पनि स्थानबाट मोडर्न रेमिटान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकले हालसम्म २७ वटा रेमिट कम्पनीहरूसँग सम्झौता गरी ग्राहकहरूलाई छिटो, छरितो, भरपर्दो र सर्वसुलभ तरिकाबाट रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ । यसका साथसाथै रेमिट्यान्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दती योजना सञ्चालनमा ल्याएको छ ।
हाल यस योजनाअन्तर्गत ११ दशमलव ३५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।