काठमाडौं । विश्वका ५० भन्दा बढी मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रणनीतिक साझेदारी भइरहेकोमा अब दक्षिणपूर्वी एसियाली देश मलेसियाबाट समेत वर्ल्ड रेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुवै पक्षबीच साझेदारी भएको छ ।
यसबाट मलेसियामा बस्दै आएका नेपालीहरूले विनाझन्झट वल्र्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्नेछन् । यसका अलावा विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहजरूपमा नगद बुझ्न सकिने व्यवस्था समेत रहेको छ । यस साझेदारीले मलेसियामा लाखौँको संख्यामा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै नेपालमा रहेको आफ्ना परिवारजन तथा आफन्तहरूलाई तत्काल सुरक्षित रूपमा रकम पठाउन सक्नेछन् ।
नेपालीहरूले वर्ल्ड रेमिट एपका अलावा यसको वेबसाइटमा लग इन गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नेछन् । साथै, अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजिल्यान्ड, नर्वे, रोमानिया, सिंगापुरलगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी सहज रूपमा रकम पठाउन सकिने व्यवस्था रहेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरूमार्फत ग्राहकहरूमाझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेरसमूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ८३ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।