काठमाडौं । शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवं जग्गा पहिचान समितिले भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पताल निर्माणका लागि उपयुक्त स्थान हुने सुझाव दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई समितिले बुधबार अध्ययन प्रतिवेदन बुझाउँदै उक्त सुझाव दिएको हो ।
समितिले भरतपुर महानगरपालिका–१५, भगवानपुर, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जागती, सूर्यविनायक नगरपालिका–४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० चित्लाङ्गमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । समितिले भरतपुर महानगरपालिका–१५ भगवानपुर कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ बिघा जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख छ । समितिका संयोजक डा. विमल शर्मा चालिसेका अनुसार देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्नका लागि जग्गा सम्याउने, पर्खाल लगाउनेजस्ता साइट डेभलपमेन्ट कार्यमा किफायती हुने देखिएको छ ।
संघीय शिक्षक अस्पतालका लागि हाल तीन सय शय्या क्षमताको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउने सोको लागि नेपाल सरकारबाट स्वीकृत मापदण्डबमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरङ्ग विभाग, अन्तरङ्ग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधासहित वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी मापदण्डले तोकेबमोजिम जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउने निष्कर्ष समेत समितिले निकालेको छ ।
प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका जग्गाको विषयमा थप अध्ययन गरी मन्त्रिपरिषद्मा लैजाने बताए । ‘समितिले दिएका प्रस्तावित जग्गाहरूको विषयमा थप अध्ययन हुन्छ’, मन्त्री पौडेलले भने, ‘अध्ययन लगत्तै स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लैजान्छु ।’ अस्पताल बनेपछि कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ । शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन एवं जग्गा पहिचान समितिमा डा. विमल शर्मा चालिसेको संयोजकत्वमा काक्तिक २२ गते सात सदस्यीय समिति गठन भएको थियो ।