दोलखा । दोलखामा पनि कोरोना भाइरसविरुद्धको तेस्रो मात्रको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय दोलखाले बुधबारदेखि बुस्टर डोज लगाउन सुरु गरेको हो ।
स्वास्थ्य कार्यालय दोलखाका स्वास्थ्य प्रमुख अर्जुन पौडेलका अनुसार बुस्टर डोज खोप कार्यक्रम आगामी माघ १५ गतेसम्म सञ्चालन हुनेछ । बुस्टर डोज यसअघि कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो मात्राको खोप लगाएको ६ महिना पूरा भइसकेका अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका, निर्वाचित जनप्रतिनिधि, सार्वजनिक सेवामा खटिने कर्मचारी, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, सञ्चारकर्मी, सार्वजनिक सेवाका चालक, सहचालकलाई दिइने स्वास्थ्य प्रमुख पौडेलले बताए । गत असार मसान्तभित्र दोस्रो मात्रा लगाइसकेका व्यक्तिहरूलाई सोही समयमा लगाएको खोपको बुस्टर डोज दिइने पौडेलले जानकारी दिए ।
स्वास्थ्य कार्यालयलले बुधबारदेखि जिल्लाको भीमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका र तामाकोशी गाउँपालिकामा खोप दिन सुरु गरेको हो । सदरमुकाम चरीकोटमा रहेको चरीकोट अस्पतालमा बुधबारदेखि ७ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । जिरी नगरपालिका र शैलुङ गाउँपालिकामा ६ र ७ गते, मेलुङ र विगु गाउँपालिकामा ८ र ९ गते, गौरिशंकर गाउँपालिकामा १० र ११ गते र बैतेश्वर गाउँपालिकामा १४ र १५ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाएको खोपकार्डसहित तोकिएको खोप केन्द्रमा गई बुस्टर डोज खोप लगाउन सबैलाई स्वास्थ्य कार्यालय दोलखाले अनुरोध समेत गरेको छ । बुधबार जिल्लाका करिब दुई सय जनाले बुस्टर डोज खोप लगाएका छन् ।
यस्तै दोस्रो चरणमा ६० वर्षमाथिका जेष्ठ नागरिकलाई पनि बुस्टर डोज खोपको मात्रा दिइने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । यस्तै पहिलो र दोस्रो मात्रको खोप लगाउन छुटेकालाई र विद्यार्थीहरूलाई खोप दिने कार्यक्रम पनि जारी रहेको जनाइएको छ । दोलखामा तेस्रो लहरको सुरु भएपछि संक्रमित हुनेको संख्या ७९ पुगेको छ । बुधबार जिल्लामा थप १० जना नयाँ संक्रमित थपिएका छन् ।