काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, चितवनले आफ्नो २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष राम प्रसाद रूपाखेतीको अध्यक्षतामा भब्यताका साथ वार्षिक साधारणसभा सम्पन्न गरेको हो । चितवन रत्ननगर १, टाँडीमा केन्द्रीय कार्यालय रहेको बैंकले भौतिक तथा भर्चुअलको माध्यमवाट सौराहास्थित होटल सेन्ट्रल पार्कमा बिहीबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संस्थालाई तोकिएको चुक्ता पुँजी यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७–०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आव २०७८–०७९ को लागि लेखापरीक्षक नियुक्ति र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरी आवश्यकताअनुसार उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी समेत दिने निर्णय गरिएको छ । साथै सभामा सेयरधनीहरूबाट बैंक समस्याग्रस्त अवस्थाबाट मुक्त गराई हालको अवस्थामा ल्याउन सफल भएकोमा सञ्चालक समिति तथा सिंगो बैंक व्यवस्थापनप्रति खुशी व्यक्ति गर्दैै थप प्रगति गर्नको लागि सुझावसहित शुभकामना व्यक्त गरेका छन् ।