विराटनगर । चालू आर्थिक वर्ष ०७८/०७९ को लक्ष्यअनुसारको छ महिनामा राजस्व संकलन गर्न विराटनगर भन्सार कार्यालय असफल भएको छ । विराटनगर भन्सारको राजस्व संकलनमा भारतको बथनाहा नजिकै रहेको मिरगञ्ज पुल भास्सिएपछि विराटनगर भन्सार कार्यालयले संकलन गर्ने राजस्वमा व्यापक कमी आएको हो ।
लक्ष्यअनुसारको विराटनगर भन्सार कार्यालयले दैनिक १४ करोडभन्दा माथि राजस्व संकलन गर्दै आएको थियो । तर भारतको बथनाहामा रहेको मिरगञ्ज पुल भास्सिएर दैनिक चारदेखि पाँच करोड रुपैयाँ मात्र राजस्व संकलन हुन थालेपछि विराटनगर भन्सारले आफ्नो लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको हो ।
भारततर्फ रहेको मिरगञ्ज पुलबाट मालवाहक गाडी आउजाउ गर्न गत पुसदेखि नै भारत सरकारले बन्द गरेपछि प्रत्यक्ष रुपमा विराटनगर भन्सारको राजस्व संकलन प्रभावित बन्न पुगेको थियो । अहिले उक्त पुलको विकल्पका रुपमा भारत सरकारले सुनसरीको कोशी ब्यारेजमा रहेको सेतुबन्धु भन्सार नाकाबाट मालवाहक गाडी आउजाउ गर्न दिएपछि मात्र चारदेखि पाँच करोडसम्म दैनिक राजस्व संकलन हुन थालेको हो । रिरुट गरेर मालवाहक गाडी नेपाल आउनुपर्दा दैनिक तीन सयको हाराहारीमा मालवाहक गाडी आइरहेकामा पछल्लो समय एक सयको हाराहारीमा मात्र मालवाहक गाडी नेपाल आउँदा प्रत्यक्ष विराटनगर भन्सारको राजस्व संकलनमा प्रभाव पर्न पुगेको हो । अहिले नेपाल आउने मालवाहक गाडीले भान्टाबारी भन्सार नाका प्रयोग गर्दा एक सय १६ किमि बाटो बढी पर्ने हुँदा रिरुटबाट मालवाहक गाडी नेपाल भित्रिन समस्य भएपछि न्यून संख्यामा मालवाहक गाडी आएपछि विराटनगर भन्सारको राजस्व संकलन नै प्रभावित बनेको हो ।
मिरगञ्ज पुलकै कारण देखाएर धेरै उद्योगी तथा व्यवसायीले आफ्ना मालवाहक गाडी डाइर्भट गरी अन्यत्र लान थालेपछि भन्सार राजस्वमा कमी भएको कुरा विराटनगर भन्सारले जानकारी दिएको थियो । विराटनगर भन्सारले पुस महिनामा चार अर्ब ३० करोड राजस्व उठाउनुपर्नेमा तीन अर्ब २७ करोड मात्र राजस्व संकलन गर्न सकेको छ । जसले गर्दा पुस महिनामा नै मिरगञ्ज भास्सिएपछि विराटनगर भन्सारको ७५ प्रतिशतले राजस्व संकलनमा कमी भएको कुरा थाहा भएको छ । विगतका अन्य महिनामा आफ्नो लक्ष्यअनुसारको विराटनगर भन्सारले ९० प्रतिशतभन्दा बढी भन्सार राजस्व संकलन गर्दै आएको कुरा पनि थाहा भएको छ । तर भारततर्फको पुल भास्सिएसँगै विराटनगर भन्सारले राजस्व संकलनको ठूलो हिस्सा गुमाउनुपरेको हो ।