दोलखा । आलुखेती र उत्पादनको हिसाबले प्रमुख मानिने जिल्लाको शैलुङ गाउँपालिकाका किसानलाई रासायनिक मलको चरम अभाव भएको छ । आलु रोप्ने समय सुरु भएकाले यतिबेला किसानहरू रासायनिक मलको खोजीमा भौतारिरहेका छन् ।
आलुको मुख्य सिजनमा अहिले किसानलाई मलको चरम अभाव भएको शैलुङ गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रामेश्वर उप्रेतीले बताए । जाडोयाम लागेसँगै जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रका किसानले नगदे बालीका रूपमा आलु रोप्न थाल्छन् । गत सिजनमा स्थानीय एकीकृत शैलुङ साना किसान कृषि सहकारीले किसानलाई गाउँमै मल उपलब्ध गराएपनि यो पटक मलको अभाव हुँदा आलुखेती गर्न समस्या भएको वडा अध्यक्ष उप्रेतीले बताए ।
शैलुङबाट मल पाइने आस बोकेर चरीकोट आएका किसान शान्ति बस्नेतले सदरमुकाम चरीकोटमै मल अभाव भएकाले युरिया मल पाउन नसकेको दुखेसो गरे । बस्नेतले व्यावसायिकरूपमा आलुखेती गर्दै आएका छन् । उनले करिब २५ रोपनी आफ्नो बारीमा आलु रोप्ने गरेका छन् । सिजनमा आलुु बिक्री गरेर लाखौँ कमाउने उनलाई यो पटक आलु रोप्दा आलुसँगै लगाउने रासायनिक मलको अभाव हुँदा आलुुखेती गर्न समस्या भएको छ ।
शैलुङ गाउँपालिकाको प्रायः सबै वडामा आलु उत्पादन हुनेहुँदा यहाँका सबै किसानको मुख्य आम्दानीको स्रोत नै आलुखेती हो । मुख्य खेती गर्ने समयमा नै रासायनिक मल नपाउदा यहाँका किसानलाई आलुखेती गर्न समस्या भएको छ । गत पुस अन्तिम साता भएदेखि हिमपात र वर्षा हुँदा खुशी देखिएका किसान अहिले मल अभाव हुँदा चिन्तित छन् ।
हिमपात र वर्षाले माटो चिस्याएपछि आलु रोप्न तयारी गरेर बसेका किसानहरू मल अभाव हुँदा आलु रोप्न कि नरोप्ने भन्ने अन्योलमा रहेको बस्नेतले बताए । शैलुङ गाउँपालिका वडा नम्बर–८ भैँसेबाट मात्र वार्षिक १५ करोडको आलु उत्पादन हुँदै आएको छ । यस वडाका केही किसानले भने आलुखेती सुरु गरेका छन् । यद्यपि युरिया, डीएपी, पोटासलगायतको रासायनिक मलको अभाव हुँदा धेरैजसो किसानका सयौँ रोपनी जमिन अहिले बाझै रहेको शैलुङ गाउँपालिका–८ भैँसेका स्थानीय सहदेव बस्नेतले बताए ।
गत वर्षहरूमा सहकारीले मल खरिद गरेर गाउँमै ल्याएर वितरण गर्ने गरेको भए पनि यो पटक देशमै रासायनिक मलको अभाव भएकाले किसानले माग गरेअनुसार मल ल्याउन नसकेको एकीकृत शैलुङ साना किसान कृषि सहकारीका अध्यक्ष बद्री कार्कीले बताए । उनका अनुसार भैँसेका मात्र करिब दुई सय जना किसानलाई तत्काल मल चाहिन्छ । मल खरिद गर्न वडाका करिब दुई सय किसानले नाम टिपाए पनि मल दिन नसकेको कार्कीले बताए ।
शैलुङमा उत्पादन हुने आलु धेरैजसो नेपालका चर्चित बजारमा जाने गर्छ । यस क्षेत्रमा खेती हुने तथा राम्रो उत्पादन दिने जातहरूमा कुफ्री ज्योति, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी, खुमल उज्वललगायत जातको आलुकिसानले लगाउँदै आएका छन् । यी जातको आलु रोप्दा किसान नै आलुसँगै मल लगाउने गर्छन् । रोप्नेबित्तिकै मल लगाउँदा आलु चाँडै उम्रने र बढ्ने भएकाले सुरुमै मल लगाउनुपर्ने हुँदा रासायनिक मल अभावमा किसानहरूले आलु रोप्न नसकेको बताएका छन् । जिल्लाका मुख्य बजार आसपासका किसानले सामान्य रूपमा मल पाए पनि दुर्गम र माथिल्लो गाउँका किसानहरूले भने मल नपाएको गुनासो गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा प्रति टन ६ हजार डलरको भाउमा आयात गरिएको उक्त मरिच प्रतिटन २ हजार ३ सय डलरमा मुल्य झरेसँगै मरिच आयात रोकीएको छ । ब्यापारीस्रोतका अनुसार बिराटनगर भन्सार नाका भएर भियतनाम, इण्डोनेसिया, श्रीलंका, थाइल्याण्ड र मलेसियाबाट आयात हुने मरिचको माग नेपालमा उच्च रहेको छ । पछिल्लो समय सरकारबाट सुपाडी आयात बन्द गरेपछि विकल्पका रूपमा गोल मरिच आयातमा ब्यवसायी लागेपनि अन्तर्राष्ट्रिय बजारमा आएको ब्यापार मन्दि र मुल्य गिरावटका कारण मरिच आयात गर्ने ट्रेडिङ्ग ब्यवसायी यतिबेला अन्यौलमा भएको बताइन्छ ।