काठमाडौं । वैदेशिक रोजगार कार्यालय, काठमाडौँले हालै सुरु गरेको अनलाइन श्रम स्वीकृति सेवाग्राहीका लागि सहज र प्रभावकारी बन्दै गएको छ । दैनिक एक हजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए ।
कोरोना संक्रमण जोखिमको बेला अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको कार्यालय प्रमुख अर्यालले बताए । यसअघि एक हजार बढी सेवाग्राहीको भौतिक उपस्थितिमा सेवाप्रवाह गर्दा विभिन्न गुनासो आउने गरेको र कर्मचारीले समेत रातिसम्म काम गर्नुपर्ने बाध्यता अहिले हटेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम स्वीकृतिलाई पेपरलेस बनाउन निर्देशन दिएसँगै छिटो, छरितो र पारदर्शी र गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको काम सुरु भएको थियो । अनलाइनमा कागजातहरू जाँच गर्न समय लाग्ने तथा कहिलेकाहीँ इन्टरनेट सर्भरको समस्या हुनसक्ने भएकोले तीन दिनअगाडि अनलाइन फाराम भर्न कार्यालयले भनेको छ । अनलाइन प्रणालीमा समय बढी लाग्ने र खर्चिलो हुने तथा ई–पासपोर्टसँग म्याचिङ नहुने भनी अफवाह फैलाइएको भन्दै कार्यालयले सेवाग्राहीले विवरण सही भरेमा सोही दिन नै श्रम स्वीकृति दिने गरिएको जनाएको छ । पुनः श्रम स्वीकृतिको लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
म्यादी जीवन बीमाको शुल्क उमेरअनुसार हुने र वैदेशिक रोजगार कल्याणकारी कोषको लागि एक हजार पाँच सय रुपैयाँ शुल्क लाग्ने कार्यालयका सूचना अधिकारी हरिराम नागिलाले बताए । जीवन बीमा र कल्याणकारी कोष समेत गरी ३५ वर्षसम्मका लागि पाँच हजार दुई सय आठ रुपैयाँ, ३६ वर्षदेखि ५० वर्षसम्मका लागि छ हजार चार सय ३१ रुपैयाँ र ५१ वर्षदेखि माथिका लागि १० हजार नौ सय ६३ रूपैयाँ मात्र शुल्क लाग्छ । यदि घरमा नभरेर अन्यत्र अनलाइन फाराम भर्नुपरेमा आफूलाई लाग्ने शुल्कको बारेमा पूर्ण जानकारी राखी नठगिन कार्यालयले सबै सेवाग्राहीलाई आग्रह गरेको छ ।