काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौँमा रहेको होटेल याक एन्ड यतीमा एक कार्यक्रमबीच ‘सिटिजन खबर’ नामक जर्नलको विमोचन गरेको छ । कम्पनीले कात्तिक २ गते आफ्नो गौरवमय चारवर्षे यात्रा सम्पन्न गरेसँगै सो अवधिसम्मका यादगार पलहरूलाई सधैँको लागि साँच्न सकियोस् भनेर यिनै पलहरूको समीक्षास्वरूप यस जर्नल लिएर आएको कम्पनीले जनाएको छ । बीमाको सचेतना तथा सुसमाचारसहित कम्पनीका विगतका सम्झनाका साथै यस जर्नलमा कम्पनीका व्यावसायिक उपलब्धिहरू, प्रगति विवरणहरू, विभिन्न क्रियाकलापहरू, साथै सिटिजन लिडर्सहरूको लेख पनि समावेश गरिएको छ ।
सिटिजन खबरको विमोचन यस कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख दशरथ मणि खड्का, नायब महाप्रबन्धक दिपबहादुर विसी साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमालले संयुक्तरूपमा गरेका थिए । यस जर्नलको प्रिन्ट प्रतिलिपि कम्पनीको प्रमुख कार्यालयलगायत विभिन्न शाखा कार्यालयहरूमा उपलब्ध छ र डिजिटल प्रतिलिपी कम्पनीको वेबसाइटमा पनि उपलब्ध छ । साथै आउने दिनहरूमा पनि यस जर्नलको प्रकाशन जारी रख्ने कम्पनीले जनाएको छ ।
हरेक परिस्थितिलाई अवसरको रूपमा लिँदै आइरहेको यस कम्पनीले आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरूलाई अझै ग्राहककेन्द्रित र प्रविधिमुखी बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरूलगायत नवीनतम बीमा योजना र व्यावसायिक तथा दक्ष सिटिजन लिडरहरूसहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ । साथै जीवन बीमा सेवालाई सर्वसुलभरूपमा हरेक नेपालीको पहुँचमा पु-याई उत्कृष्ट इन्स्योरेन्स कम्पनी बन्ने कम्पनीको यस यात्रामा सबैको साथ र खुशीका पलहरू सिर्जना गर्न सहयोगको अपेक्षा रहेको कम्पनीले जनाएको छ । साथै, वर्तमान अवस्था चाँडै नै अनुकूल भई दैनिकी सहज हुने अपेक्षासहित स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्न सम्पूर्ण ग्राहकहरूमा अनुरोधसहित सुस्वास्थको शुभकामना व्यक्त गरेको छ ।