लण्डन । बेलायतमा कोरोनाभाइरसको महामारी न्यूनीकरणका लागि लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइने भएको छ । अर्को महिना फेब्रुअरी ११ देखि सबै प्रतिबन्धात्मक व्यवस्था हटाउने निर्णय लागू नै हुने अधिकारीहरूले जानकारी दिएका छन् । प्रतिबन्धात्मक व्यवस्था हटाइएसँगै भारतलगायतका देशबाट बेलायत प्रवेश गर्नलाई पनि अब खुल्ला हुने भएको छ । तर ती यात्रुहरूले खोपको पूरा मात्रा लगाएको हुनुपर्ने शर्त भने राखिएको छ ।
यातायात विभाग र स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागले सूचना जारी गर्दै आगामी फेब्रुअरी ११ तारिखको बिहान ४ बजेदेखि सबै प्रतिबन्धात्मक व्यवस्थाहरु हट्ने स्पष्ट पारेको छ । पूरा मात्राको खोप लगाएका विदेशबाट आएका यात्रुहरुले पनि त्यो दिनदेखि आइसोलेसनमा बस्नु नपर्ने र पीसीआर परीक्षणको नतिजा देखाउनु नपर्ने सूचनामा उल्लेख गरिएको छ ।
त्यसैगरी १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई भने इंग्ल्यान्डमा हिँड्डुल गर्नका लागि खोप लगाएको प्रमाण देखाउनुपर्ने व्यवस्था गरिएको छ । यात्रासम्बन्धी धेरै नीति फेबु्रअरीदेखि परिवर्तन हुने भएको छ । यही बेलामा सरकारले सबैलाई अतिरिक्त खोपको व्यवस्था गर्ने लक्ष्य राखेको छ ।