काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । बाग्लुङमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले निष्काशन गर्नुपर्ने तीन करोड रुपैयाँबराबरको तीन लाख कित्ता साधारण सेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको जनाएको छ ।
उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठबीच बुधबार सम्झौता भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको इजाजपत्र प्राप्त गरी २०७५ फागुन १ गतेदेखि वित्तीय कारोबार गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले विस २०७८ पुस मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरूमार्फत कुल एक सय ९१ जना कर्मचारी परिचालन गरी ३४ हजार चार सय ३८ सदस्यहरूलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । सोही अवधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानीतर्फ एक अर्ब ४४ करोड, निक्षेप संकलनतर्फ ६२ करोड १४ लाख रहेकोमा अन्तरबैंक सापटी ६१ करोड ८० लाख रुपैयाँ रहेको छ ।
हाल चुक्ता पुँजी सात करोड रहेकोमा सार्वजनिक सेयर निष्काशन भएपश्चात् १० करोड चुक्ता पुँजी कायम हुनेछ । हाल जगेडा तथा कोषहरूतर्फ कुल १० करोड ३८ लाख रहेको छ । आर्थिक वर्ष २०७७–०७८ को असार मसान्तसम्ममा वित्तीय संस्थाको वितरणयोग्य मुनाफा दुई करोड ६० लाख रुपैयाँ रहेकोमा पुस मसान्तसम्म आइपुग्दा उक्त वितरणयोग्य मुनाफा चारा करोड नौ लाख पुगेको छ । आर्थिक वर्ष २०७७–०७८ को मसान्तमा प्रतिसेयर आम्दानी ५० रुपैयाँ १२ पैसाभन्दा बढी कायम गरेकोमा पुस मसान्तसम्ममा आइपुग्दा ६१ रुपैयाँ ४५ पैसा प्रतिसेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बोहराले जानकारी दिएका छन् ।