विराटनगर । मोरङ व्यापार संघले औद्योगिक प्रयोजनका मालवाहक सवारीसाधनहरुबाट अव्यावहारिक रुपमा अनुचित शुल्क÷जरिवाना असुली कार्य भइरहेकोले तत्कालै बन्द गर्न आग्रह गरेको छ ।
संघका नवनिर्वाचित अध्यक्ष नवीन रिजालसहितको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी र मोरङका प्रहरी उपरीक्षकलाई भेटी मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुमा सवारीसाधनबाट अवैध रुपमा रकम असुल्ने काम भइरहेकोतर्फ ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष रिजालले भारतको बथनाहमा रहेको मिरगञ्ज पुल भास्सिएपछि मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारीसाधनहरु फिर्ता जाने क्रममा मोरङ र सुनसरीका केही निकायहरुबाट विभिन्न शीर्षकमा शुल्क/जरिवाना असुल्ने कार्य भइरहेको बताए । प्रशासनले उक्त कार्य रोक्नतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
औद्योगिक प्रयोजनले विराटनगर नाकामार्फत नेपाल भित्रिनुपर्ने भारतीय सवारीसाधनहरु अहिले जोगबनी–विराटनगर सडक खण्ड जीर्ण अवस्थामा भएका कारण भीमनगर–भन्टाबारी नाकाका लागि रि–रुट भई थप एक सय ३० किमि गन्तव्य तय गर्न बाध्य रहेको उनको भनाइ थियो । नेपाली आयातकर्ताहरुलाई लागत खर्च वृद्धिको मार परिरहेको अवस्थामा नेपाली पक्षबाट नै त्यस प्रकारका अनुचित असुली हुँदा स्वदेशी उद्योग/व्यवसायलाई थप व्ययभार परेको उनले बताए । यस्ता प्रवृत्तिले अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको प्रतिष्ठामा आँच पु-याउने उनको भनाइ थियो । यस्ता अनुचित असुली कार्य तत्कालै अन्त्य गर्न सम्बन्धित निकायलाई यथाशीघ्र निर्देशन जारी गर्न समेत उनले आग्रह गरेका थिए ।