काठमाडौं । बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न बीमा कम्पनीहरूलाई कारबाहीस्वरुप नगद जरिवाना तिराएको छ । समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलका अनुसार बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसीमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरिएको हो ।

बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्था छ । तर केही कम्पनीहरुले जानी–जानी यो व्यवस्थाको उल्लङ्घन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको प्रवक्ता पौडेलले बताए ।
प्रवक्ता पौडेलका अनुसार यसरी जरिवाना गरिएका बीमा कम्पनीहरूमा दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स कंम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स कंम्पती, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स. र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।