काठमाडौं । सरकारले कच्चा दूधको न्यूनतम मूल्य ५६ रुपैयाँ चार पैसा तोकेको छ । किसानहरुले दूधको मूल्य बढाउनुपर्ने माग गरेसँगै दुग्ध विकास बोर्डले सरकारलाई सिफारिस गरेको थियो । बोर्डले सरोकारावालाहरुसँग छलफल गरी छ रुपैयाँदेखि १० रुपैयाँ बढाउन माग गरेको थियो । सोहीअनुरुप गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको नयाँ न्यूनतम मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
गाईभैसीलाई खुवाउने दानालगायतका सामग्रीमा मूल्य बढेको भन्दै दुग्ध उत्पादक सहकारी संघले मूल्य बढाउन माग गर्दै आएको थियो । संघको मागलाई डेरी उद्योग संघ, डेरी एसोसिएसन, दुग्ध विकास संस्थानले समर्थन गर्दै आएका थिए ।
अर्थ मन्त्रालय विश्व बैंकबाट फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिटबापत प्राप्त हुने एक सय ५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) सम्बन्धी सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने विषय समेत टुंगो लागेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारमन्त्री कार्कीले बताए । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तनहुँ जलविद्युत् आयोजनाको प्रसारणलाइनको लागि जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, मालपोत कार्यालय र नापी कार्यालय सिमरा, बाराको कार्यक्षेत्रमा पर्ने सविक गा.वि.सहरु बुनियाद, रामपुरकोटनी तथा लिपनीमालको कार्यक्षेत्र भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय खैरहनीको कार्यक्षेत्रमा समावेश गर्ने, दार्चुलाको तुषारपानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडक खण्डको ट्र्याक निर्माणकार्य नेपाली सेनाबाट गराउन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद् बैठकले शिक्षक अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, सफा हिमाल अभियान, २०२२ मा खटिने नेपाली सेनाका सदस्यहरु हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर र गारवेज धरौटीबापतको रकम छुट दिने तथा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई निजामती सेवाको राजपत्रांकित विशिष्ट क्षेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।
लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीहरुलाई राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सोसरहका पदमा बढुवा नियुक्त गर्ने र जाजरकोटका समिर जंगशाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।