काठमाडौं । प्रहरीले अवैधरुपमा भन्सार छली ल्याएको सुन, मोबाइल तथा ल्यापटपसहित चार जनालाई पक्राउ गरेको छ । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका ८ मधुमल्लका ३० वर्षीय पदम बहादुर अधिकारी, सोही स्थानका ३० वर्षीय मान सिंह विश्वकर्मा, झापा शिवसताक्षी नगरपालिका ९ मिलनचोकका २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका १९ का ३२ वर्षीय गोकुल डल्लाकोटी रहेका छन । जजिरा एयरको फ्लाइटद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौँ आएका पदम बहादुरको साथबाट ५८ ग्राम तौलबराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप, मान सिंह विश्वनकर्माको साथबाट ५८ ग्राम तौलबराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप तथा समिरको साथबाट ५८ ग्राम तौलबराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप फेला पारेको प्रहरीले जनाएको छ ।
उक्त सामान फेला पारेपछि सोधपुछ गर्दा आफूहरुलाई गोकुलले भन्सार छली गरी ल्याउन लगाएको उनीहरुले बयान दिएको थिए । सोही बयानका आधारमा उक्त सामान लिन आएका गोकुललाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामानहरूसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।